सर्लाही । सर्लाहीको बरहथवा बजारमा आधुनिक स्वास्थ्य सुविधासहित नयाँ अस्पताल सञ्चालनमा आएको छ । बरहथवा तिरुपति बालाजी हेल्थ केयर प्रा. लि. ले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरेको हो ।
अस्पतालले २४ घण्टा आकस्मिक सेवासहित विभिन्न स्वास्थ्य परीक्षण, उपचार तथा विशेषज्ञ सेवा उपलब्ध गराउने जनाएको छ । अस्पताल सञ्चालनमा आएसँगै बरहथवा तथा आसपासका नागरिकलाई उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।
अस्पतालमा ओपीडी, २४ घण्टा इमर्जेन्सी, डिजिटल एक्स–रे, अल्ट्रासोनोग्राफी (USG), ECG, प्याथोलोजी, फार्मेसी, इकोकार्डियोग्राफी, EEG, पल्मोनरी फङ्सन टेस्ट (PFT) र माइनर OT लगायतका सेवा उपलब्ध छन् ।
ओपीडी सेवामा डा. प्रभाष कुमार साह, डा. प्रशान्त कुमार साह, डा. अञ्जली कुमारी सागर, डा. निरञ्जन चौधरी र डा. रिया शाह लगायतका चिकित्सकले सेवा दिने अस्पतालले जनाएको छ ।
त्यस्तै, विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट विशेष ओपीडी सेवा पनि सञ्चालन गरिएको छ । कार्डियोलोजिस्ट डा. जितेन्द्र मिश्रा, इन्डोक्राइनोलोजिस्ट डा. राजीव यादव, युरोलोजिस्ट डा. विद्यानन्द चौरसिया, न्यूरोसाइकियाट्रिस्ट डा. रोबिन झा, ग्यास्ट्रो–फिजिसियन डा. प्रवेज आलम र बाल रोग विशेषज्ञ डा. देवेन्द्र जैसवाल बाट विशेषज्ञ सेवा उपलब्ध हुने बताइएको छ ।
अस्पतालमा Endoscopy सेवा पनि उपलब्ध हुने जनाइएको छ । त्यस्तै, CT Scan आवश्यक पर्ने बिरामीका लागि न्यूनतम यातायात खर्चमा मलंगवामा CT Scan सेवा उपलब्ध गराउने व्यवस्था गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
अस्पताल व्यवस्थापनका अनुसार आधुनिक उपकरण तथा दक्ष स्वास्थ्यकर्मीमार्फत बिरामीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिनेछ । स्थानीय नागरिकलाई समयमै उपचार तथा स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउने अस्पतालको मुख्य उद्देश्य रहेको बताइएको छ ।
बरहथवा क्षेत्रमा नयाँ अस्पताल सञ्चालनमा आएसँगै स्थानीयवासीले सामान्य उपचारदेखि विशेषज्ञ स्वास्थ्य सेवासम्म आफ्नै क्षेत्रमा पाउने भएका छन् । यसले बरहथवा र आसपासका नागरिकको स्वास्थ्य सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।



