‘विवाह गर्छु’ भन्दै सम्बन्ध राखे, प्रहरीमा सहमति गरेपछि घरबाटै निकालेको पीडितको आरोप

सर्लाही । विवाह गर्ने आश्वासन दिएर पटक पटक आफूलाई यौन सम्बन्धमा राखेको आरोप लगाउँदै सर्लाहीकी एक युवती न्यायको माग गर्दै प्रहरी प्रशासनको ढोका धाइरहेकी छन्। प्रहरी कार्यालयमा भएको छलफलमा आफूलाई घरमा राख्ने सहमति जनाएको भनिए पनि घर पुगेपछि उल्टै प्रवेश गर्न नदिई कुटपिट गरिएको पीडितको गुनासो छ।

हरिपुर्वा नगरपालिका–९ निवासी दिनेश राय यादवका छोरा तथा नेपाली सेनामा कार्यरत मुकेश यादवले सोनमा गाउँपालिका–१ निवासी युवतीलाई विवाह गर्ने आश्वासन दिएर पटक–पटक यौन सम्बन्ध राखेको पीडितको आरोप छ।

पीडित परिवर्तित नाम छोटीका अनुसार मुकेशले विवाह गर्ने विश्वास दिलाउँदै आफूलाई सम्बन्धमा राखेको दाबी गरेकी छन्। पटक पटक विवाहको आश्वासन दिएकै कारण आफूले विश्वास गरेको तर विवाहको कुरा आएपछि मुकेशले बेवास्ता गर्न थालेको उनको आरोप छ।

घटना प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दुवै पक्षलाई बोलाएर छलफलसमेत भएको थियो। उक्त छलफलका क्रममा मुकेशले आफूलाई घरमा राख्ने प्रतिबद्धता जनाएको छोटीको दाबी छ। तर प्रहरी कार्यालयमा छलफलपछि मुकेशको घर पुगेकी आफूलाई घरभित्र प्रवेश गर्नसमेत नदिइएको उनले बताएकी छन्।

छोटीका अनुसार घरमा प्रवेश गर्न खोज्दा आफूलाई मुख बाँधेर कुटपिट गरिएको थियो।

“प्रहरी कार्यालयमा उहाँले मलाई घरमा राख्ने कुरा स्वीकार गर्नुभएको थियो। त्यसपछि म उहाँको घर गएँ। तर घरमा राख्नुको साटो मलाई घरभित्र पस्न दिइएन र मुख बाँधेर कुटपिट गरियो,” छोटीले भनिन्।

घरभित्र प्रवेश गर्न नदिएपछि आफू न्यायको माग गर्दै घरबाहिरै बसेको उनले बताएकी छन्।

प्रहरीमा भएको सहमति कार्यान्वयन भएन?

पीडितले अहिले प्रहरी कार्यालयमा भएको भनिएको सहमतिमाथि नै प्रश्न उठाएकी छन्।

दुवै पक्षलाई राखेर छलफल गरिसकेपछि मुकेशले आफूलाई घरमा राख्ने प्रतिबद्धता जनाएको भए पनि उक्त सहमति व्यवहारमा कार्यान्वयन नभएको उनको आरोप छ। उल्टै घर पुगेपछि आफूले कुटपिटसमेत सहनुपरेको उनले बताएकी छन्।

यदि पीडितले दाबी गरेजस्तै प्रहरी कार्यालयमा घरमा राख्ने सहमति भएको थियो भने त्यसको कार्यान्वयन किन भएन भन्ने प्रश्न उठेको छ। साथै, घरमा पुगेपछि कुटपिट भएको भनिएको विषयमा समेत प्रहरीले अनुसन्धान गर्नुपर्ने पीडितको माग छ।

छोटीका अनुसार घटनाको न्यायका लागि उनी पटक पटक इलाका प्रहरी कार्यालय केसरगन्ज तथा जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेकी छन्। तर पटक पटक प्रहरी कार्यालय धाउँदा पनि आफूले अपेक्षित न्याय नपाएको उनको गुनासो छ।

उनले विवाहको प्रलोभनमा पारेर आफूलाई यौन सम्बन्धमा राखिएको आरोप लगाउँदै घटनाको निष्पक्ष अनुसन्धान, आफूले भोगेको भनिएको कुटपिटको छानबिन तथा कानुनी न्यायको माग गरेकी छन्।

यता, मुकेश यादव हाल नेपाली सेनाको धारापानीस्थित ब्यारेकमा कार्यरत रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पीडित बसेको स्थानमा प्रहरी टोली पठाएर घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय