सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सव बरहथवामा मनाइयो

सर्लाही । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको २२औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकको बरहथवा शाखाले स्थानीय सेवाग्राही, शुभेच्छुक तथा कर्मचारीहरूको उपस्थितिमा केक काटेर कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा शाखा प्रबन्धक सुधिर कुमार चौधरीले बैंकको २२ वर्षे यात्रामा ग्राहक तथा स्थानीय समुदायबाट प्राप्त विश्वास, साथ र सहयोगप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा थप सरल, सहज, आधुनिक तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै ग्राहक सन्तुष्टि र वित्तीय पहुँच विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी सेवाग्राही तथा शुभेच्छुकहरूले बैंकको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै सेवालाई थप प्रभावकारी, छिटोछरितो र ग्राहक मैत्री बनाउन सुझाव दिएका थिए।

२०६१ सालमा बागेश्वरी विकास बैंकका रूपमा स्थापना भएको बैंक २०७१ सालमा सांग्रिला डेभलपमेन्ट बैंकसँग एकीकृत भई कारोबार सञ्चालन गर्दै आएको हो। नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको ‘ख’ वर्गको विकास बैंकका रूपमा इजाजत प्राप्त बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कुल सम्पत्ति करिब ६६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ भने ४ लाखभन्दा बढी ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

स्थापनाको २२ वर्ष पूरा गरेको अवसरमा बैंकले आगामी दिनमा थप गुणस्तरीय, विश्वसनीय तथा सेवाग्राहीमैत्री सेवा प्रदान गर्दै स्थानीय आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर