सर्लाही । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको नेतृत्वमा बुधबार मलंगवाका होटल तथा खाद्य व्यवसायमा गरिएको आकस्मिक अनुगमनमा सुजाता होटल उत्कृष्ट व्यवस्थापनका कारण विशेष रूपमा प्रशंसित भएको छ।
स्थानीय प्रशासन, नेपाल प्रहरी तथा प्राविधिकसहितको संयुक्त टोलीले होटलहरूको भान्सा, सरसफाइ, खाद्य पदार्थको गुणस्तर, खाद्य सुरक्षा तथा ग्राहक सेवा व्यवस्थाको सूक्ष्म निरीक्षण गरेको थियो। अनुगमनका क्रममा अधिकांश होटलमा विभिन्न कमजोरी भेटिएपछि सम्बन्धित व्यवसायीलाई जरिवाना, सचेतना तथा आवश्यक निर्देशन दिइएको थियो।
तर, सुजाता होटलले भने सरसफाइ, खाद्य सुरक्षाको पालना, गुणस्तरीय खाद्य सामग्रीको प्रयोग र सेवा व्यवस्थापनमा सबै आवश्यक मापदण्ड पूरा गरेको पाइएपछि कुनै पनि प्रकारको कारबाही वा जरिवाना भोग्नुपरेन।
अनुगमनको नतिजाले सुजाता होटललाई मलंगवामा मापदण्डअनुसार सञ्चालन भइरहेको नमुना होटलका रूपमा स्थापित गरेको छ। होटलले कायम गरेको सरसफाइ, अनुशासन र गुणस्तरीय सेवाले अन्य होटल व्यवसायीलाई समेत मापदण्ड पालनातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।



