स्वास्थ्यसँग खेलबाड गर्ने होटलमाथि सरकारको एक्सन, डेढ लाख रुपैयाँभन्दा बढी जरिवाना

जनकपुर । मधेस प्रदेश सरकारले होटल तथा रेस्टुरेन्टहरूमा खाद्य गुणस्तर र सरसफाइको अवस्था कडाइका साथ जाँच्न थालेको छ। शुक्रबार मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको संयुक्त टोलीले धनुषाका विभिन्न होटलमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग, अखाद्य वस्तुको बिक्री–वितरण तथा सरसफाइमा लापरबाही गरिएको भेटिएपछि चार होटलमाथि कारबाही गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार निरीक्षक कृष्ण गैह्रेका अनुसार लक्ष्मीनियास्थित बाबाको ढाबालाई ३५ हजार, बाजेको सेकुवालाई ७५ हजार, रोयल सम्राट होटललाई ५ हजार र बर्गरहाउसलाई ३५ हजार रुपैयाँ जरिवाना गरिएको छ। टोलीले कुल १० वटा होटलको निरीक्षण गरेको थियो।

गृहमन्त्री महतोले होटलमा खाना खाने सर्वसाधारणको स्वास्थ्यसँग कुनै पनि हालतमा खेलबाड गर्न नदिइने स्पष्ट पार्दै नियम उल्लङ्घन गर्ने होटलमाथि कडा कारबाही जारी रहने चेतावनी दिए। उनका अनुसार पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मिथिला नगरपालिकाको लालगढ र ढल्केवरबाट सुरु गरिएको अनुगमन अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन हुनेछ।

कारबाहीपछि स्थानीय उपभोक्ताले सरकारी कदमको स्वागत गरेका छन्। तर, केही समयअघि जनकपुरधामका सडक अतिक्रमण हटाउने अभियान प्रभावकारी रूपमा निरन्तर हुन नसकेको उदाहरण दिँदै यसपटक होटल अनुगमन पनि सुरुआतमै सीमित नहोस् भन्ने चिन्ता व्यक्त गरेका छन्।

जनकपुरधाम–४ का स्थानीय सर्वनाथ झाले अभियानको निरन्तरतामै यसको सफलता निर्भर रहने बताए। त्यस्तै, युवा नागरिक समाजका अगुवा सरोजकुमार मिश्राले नियमित अनुगमनले उपभोक्ता अधिकारको संरक्षण, खाद्यजन्य जोखिम न्यूनीकरण तथा होटल व्यवसायलाई थप जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय