सर्लाही । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहँदै आएको सर्लाहीको बसबरिया गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ। गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत भेष साहले मंगलबार पदमा हाजिर भई औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।
२०८३ भदौ २ गते मंगलबार गाउँपालिकामा हाजिर हुनुभएका साहलाई गाउँपालिका परिवारले स्वागत तथा बधाई ज्ञापन गरेको छ। उहाँलाई स्वागत गर्दै गाउँपालिकाको प्रशासनिक कामलाई प्रभावकारी बनाउँदै सेवा प्रवाह र विकास निर्माणका कार्यलाई थप गति दिन महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरिएको छ।
पछिल्ला केही महिनायता बसबरिया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा प्रशासनिक तथा विकास निर्माणका काम प्रभावित हुँदै आएका थिए। प्रमुख प्रशासकीय अधिकृतको नियमित उपस्थिति नहुँदा गाउँपालिकाको दैनिक प्रशासनिक कामकाज, योजना कार्यान्वयन तथा सेवाग्राहीलाई दिइने सेवामा समेत विभिन्न समस्या देखिँदै आएको थियो।
यसैबीच, गाउँपालिकाभित्र देखिएको आन्तरिक विवादका कारण बसबरियाको स्थानीय तहको प्रशासनिक तथा राजनीतिक वातावरणसमेत विवादित बन्दै आएको थियो। जनप्रतिनिधि तथा प्रशासनबीचको समन्वय, कार्यालय सञ्चालन र विभिन्न विषयमा उत्पन्न विवादले गाउँपालिकाको कार्यसम्पादनमाथि समेत प्रश्न उठ्दै आएको थियो।
लामो समयसम्म नेतृत्व तहमा देखिएको अन्योल र प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण प्रभावित बनेका गाउँपालिकाका कामहरू अब नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै नियमित तथा प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत साहले गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउँदै सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने तथा विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।
गाउँपालिकाका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनलाई लामो समयदेखि कायम रहेको प्रशासनिक अन्योल अन्त्य गर्ने महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ। अब जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला पक्षबीच आवश्यक समन्वय कायम गर्दै विगतमा देखिएका विवाद र समस्यालाई समाधान गरी गाउँपालिकाको समग्र विकासलाई अघि बढाउनुपर्ने चुनौती साहसामु रहेको छ।
गाउँपालिका परिवारले प्रमुख प्रशासकीय अधिकृत साहको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँको कुशल नेतृत्वमा गाउँपालिकाको सेवा प्रवाह, सुशासन, प्रशासनिक व्यवस्थापन तथा विकास निर्माणका कार्यले थप गति लिने विश्वास व्यक्त गरेको छ।




