सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमा अपराध नियन्त्रण तथा अनुसन्धानदेखि नागरिक सेवासम्मका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको छ।
प्रहरीको तथ्यांकअनुसार साउन महिनामा जिल्लामा विभिन्न प्रकृतिका १०१ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये संगठित तथा आर्थिक अपराधका २९, सामाजिक अपराधका २६, अन्य प्रकृतिका २५, चोरीका ८, सवारी ज्यानका ४, महिला तथा बालबालिका सम्बन्धी ४, ज्यान सम्बन्धी ३ र आत्महत्याका २ वटा रहेका छन्।
गम्भीर अपराधतर्फ कर्तव्य ज्यानको एक, ठगीका चार र बैंकिङ कसुरका नौ गरी १४ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ।
८९१ किलो गाँजा बरामद
सर्लाही प्रहरीले साउन महिनामा लागुऔषध नियन्त्रणतर्फ ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले ८९१ किलो २२ ग्राम गाँजा, १ हजार ४४२ ट्याब्लेट तथा ६६ बोतल अन्य औषधिजन्य लागुऔषध बरामद गरेको जनाएको छ। यस क्रममा २० जना पक्राउ परेका छन्।
यस्तै, भन्सार छली गरी ल्याइएका २८ लाख ४१ हजार ६९० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ। प्रहरीले दुई वटा पिकअप र एउटा टेम्पुसमेत नियन्त्रणमा लिएको छ।
अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत ४२५ लिटर मदिरा बरामद भएको छ। प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा १४ वटा ट्रयाक्टर नियन्त्रणमा लिई ९३ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
फैसला कार्यान्वयनमा पनि प्रहरीको सक्रियता
साउन महिनामा चालु मुद्दाका ९४ जना प्रतिवादी पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनका क्रममा थप ५३ जना पक्राउ परेका छन्।
फैसला कार्यान्वयनबाट ४० वर्ष २ महिना २४ दिन कैद र ११ लाख २४ हजार २८० रुपैयाँ जरिवाना असुल भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
महिला तथा बालबालिकासम्बन्धी ९९ उजुरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ९९ वटा उजुरी प्रहरीमा परेका छन्। तीमध्ये घरेलु हिंसाका १७ वटा उजुरी रहेका थिए। प्रहरीले तीमध्ये ९ वटा उजुरी मिलापत्रमार्फत टुंग्याएको जनाएको छ।
त्यस्तै, साउनमा ४२ जना हराएको भन्दै उजुरी परेकोमा २६ जनालाई प्रहरीले फेला पारेको छ।
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
साउन महिनामा जिल्लामा ८७ वटा सवारी दुर्घटना भएका छन्। प्रहरीका अनुसार दुर्घटनाको कारण विश्लेषण गर्दा ४८ वटा दुर्घटना चालकको गल्तीका कारण भएको पाइएको छ।
यसैगरी आगलागी, करेन्ट लाग्ने तथा पानीमा डुब्नेलगायतका २७ वटा विपद्का घटना भएका छन्। ती घटनामा ६ जनाको मृत्यु र १६ जना घाइते भएका छन्। प्रहरीले २० जनाको उद्धार गरेको जनाएको छ।
विपद्का घटनाबाट करिब ११ लाख ३१ हजार ९०० रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ।
नागरिक सेवामा १० हजारभन्दा बढीलाई सेवा
समुदाय–प्रहरी साझेदारीअन्तर्गत साउन महिनामा समुदाय केन्द्रित १३७ वटा र विद्यालय केन्द्रित चार वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
यस्ता कार्यक्रममा हजारौँ नागरिक तथा विद्यार्थीलाई अपराध नियन्त्रण, लागुऔषध, साइबर अपराध, सडक सुरक्षा तथा सामाजिक विकृतिविरुद्ध सचेत गराइएको प्रहरीले जनाएको छ।
नागरिक सहायता कक्षमार्फत साउन महिनामा १० हजार ११८ जना सेवाग्राहीले सेवा लिएका छन्। त्यस्तै, हटलाइन तथा प्रहरी कन्ट्रोलमा ३ हजार ८४८ वटा फोन कल प्राप्त भएकोमा आवश्यक सम्बोधन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार जिल्लाको शान्ति सुरक्षा थप मजबुत बनाउन चेकिङ, गस्ती र सूक्ष्म निगरानीलाई तीव्रता दिइएको छ।
उनका अनुसार अपराध नियन्त्रणसँगै नागरिकमैत्री प्रहरी सेवा, समुदायसँगको सहकार्य र विपद् व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेर प्रहरी गतिविधि सञ्चालन भइरहेको छ।



