मुजफ्फरपुर । बिहारको मुजफ्फरपुरमा साधुको भेषमा आएका दुई युवकले चामल खुवाएर एक महिलाबाट ९ लाख रुपैयाँ बराबरका सुनचाँदीका गहना लुटेका छन्। तर, भाग्दै गरेका उनीहरूलाई केही घण्टामै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीले समातेको छ।
घटना मनियारी थाना क्षेत्र अन्तर्गत पर्ने जगदीशपुर गाउँको हो। विकाश कुमारको पत्नी ममता देवीलाई ‘गहना दोब्बर बनाइदिन्छु’ भन्ने लोभ देखाएर ठगहरूले झुक्याएका हुन्। घरमा एक्लै रहेकी महिलालाई झुक्याउँदै साधुको भेषमा आएका एक युवक घरभित्र पसे, कुर्सीमा बसे र गहना झिक्न लगाए।
त्यसपछि उनले चामल दिँदै भने, “यो खाऊ, अनि हेऊ, गहना कसरी दोब्बर हुन्छ।” महिला चामल खाएपछि बेहोश भइन्। त्यसपछि ठगहरूले गहना बोकेर फरार भए।
सासुले मच्चाइन् शोर, ग्रामीण सक्रिय
महिला अचेत अवस्थामा देखेपछि सासुले शोर मच्चाइन्। पानी छर्किएपछि ममता होशमा आइन्। जानकारी पाएपछि गाउँलेहरू जुटे र ठगको खोजी सुरु गरे। सोही क्रममा मुरौल चौकमा दुई जना संदिग्ध देखिएपछि प्रहरीलाई खबर गरियो।
गहना सहित पक्राउ
प्रहरी पुगेपछि ती दुबैलाई नियन्त्रणमा लिइयो। स्थानीय सुनील यादवका अनुसार पक्राउ परेका व्यक्तिहरूको झोलाबाट ठूलो मात्रामा सुनजस्तो देखिने गहना बरामद भएको छ।
गिरोह संलग्न हुने आशंका
गाउँलेहरूले ठगहरू कुनै ठुलो गिरोहसँग संलग्न भएको आशंका गरेका छन्। उनीहरू गाउँका सरल महिलालाई जादुटोना र गहना दोब्बर पार्ने जस्ता झुटा कुरा देखाएर ठगी गर्ने गरेको बताइएको छ।
मनियारी थाना प्रमुख देवव्रत कुमारले घटनामा संलग्न दुई युवकलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। उनीहरू दुबै रोहतास जिल्लाका बासिन्दा भएको र विस्तृत अनुसन्धान भइरहेको उनले बताए।
पक्राउ परेका ठगहरूमाथि ठगी र बेहोस बनाएर लुटपाट गरेको अभियोगमा कारबाही अगाडि बढाइएको छ।



