काठमाडौं । नेपाल प्रहरीले गैरकानुनी रूपमा नेपालमा बसोबास गरिरहेका २४ जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ अन्तर्गत डल्लु र सीतापाइला क्षेत्रमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामध्ये केहीसँग नेपाल प्रवेश गरेको प्रमाणित गर्ने पासपोर्ट वा अन्य परिचय खुल्ने कागजात थिएन भने केहीले पर्यटक भिसाको अवधि समाप्त भइसकेपछि पनि गैरकानुनी रूपमा नेपालमा बसोबास गर्दै आएका थिए।
प्रहरीले उनीहरूलाई डल्लु, सीतापाइलालगायतका क्षेत्रमा सञ्चालित कपडा उद्योग तथा कारखानामा काम गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि बुधबार अध्यागमन विभाग, कालिकास्थान पठाइएको प्रहरी स्रोतले जनाएको छ।



