सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ निवासी बिमल साह भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ स्पेसलिस्ट’ का रूपमा सम्मानित भएका छन् । संगीत उपकरण मर्मत तथा हार्मोनियम ट्युनिङ क्षेत्रमा लामो समयदेखि सक्रिय साहलाई बलिउडका चर्चित गायक कुमार सानुले सम्मान प्रदान गरेका हुन् ।
मुम्बईमा आयोजित एक सांगीतिक समारोहका बीच साहलाई उक्त सम्मान प्रदान गरिएको बताइएको छ । हार्मोनियम ट्युनिङ तथा मर्मतसम्भार क्षेत्रमा निरन्तर योगदान दिँदै आएका साहले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यो सम्मानलाई आफ्नो लागि गौरवको विषय भएको बताएका छन् ।
स्थानीयवासीका अनुसार बिमल साहले नेपालमै रहेर संगीत उपकरण मर्मत, संरक्षण तथा ट्युनिङमा विशेष दक्षता विकास गर्दै आएका थिए । सीमित स्रोतसाधनका बीच उनले आफ्नो सीपलाई निखार्दै लगेका कारण आज अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न सफल भएको उनीहरू बताउँछन् ।
उनको यो उपलब्धिले नेपाली कलाकार तथा प्राविधिकहरूको क्षमता विदेशमा समेत पहिचान हुन सक्ने सन्देश दिएको स्थानीयवासीको भनाइ छ । साथै, संगीत क्षेत्रमा प्राविधिक रूपमा काम गर्ने युवापुस्ताका लागि पनि साह प्रेरणाका स्रोत बनेका छन् ।
कार्यक्रममा विभिन्न भारतीय तथा अन्तर्राष्ट्रिय संगीतकर्मीहरूको उपस्थिति रहेको जनाइएको छ । बिमल साहको सम्मानसँगै सर्लाही जिल्लासहित समग्र नेपालकै लागि यो उपलब्धि गौरवपूर्ण मानिएको छ ।



