प्रदेश डायरी, जनकपुरधाम । मधेस प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी ले माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रमा मोबाइल फोन भेटिए कडा कारबाही गरिने चेतावनी दिएकी छन्। उनका अनुसार परीक्षा केन्द्रभित्र मोबाइल पूर्ण रूपमा निषेध गरिएको छ र नियम उल्लङ्घन भएमा मोबाइल जफत गरी नष्टसमेत गरिनेछ।
जनकपुरधाममा आयोजित एसईई–२०८२ सम्बन्धी प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री तिवारीले परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने स्पष्ट पारिन्। उनले परीक्षा शान्त, मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सम्बन्धित सबै निकायलाई सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिइन्।
मन्त्री तिवारीले परीक्षा केन्द्रको सुरक्षा व्यवस्थापन, प्रश्नपत्रको गोपनीयता, नक्कल नियन्त्रण तथा प्रभावकारी अनुगमनमा विशेष ध्यान दिन आग्रह गर्दै जिल्ला प्रशासन, सुरक्षा निकाय र शिक्षा सम्बन्धी निकायबीच समन्वय सुदृढ बनाउन निर्देशन दिएकी छन्।
बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया लगायतले परीक्षा व्यवस्थापनबारे आ–आफ्ना धारणा राखेका थिए।
यसैगरी राष्ट्रिय परीक्षा बोर्ड जनकपुरका प्रमुख, शिक्षा विकास समन्वय इकाइका प्रमुख तथा अन्य सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकले परीक्षा अवधिभर सुरक्षा कडाइ गर्ने, परीक्षा केन्द्र वरपर निषेधित क्षेत्र कायम गर्ने, अनुगमन टोली परिचालन गर्ने तथा कुनै समस्या आए तत्काल समाधान गर्ने संयन्त्र सक्रिय राख्ने निर्णय गरेको छ।



