सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१२ जियाजोरस्थित सार्वजनिक सडकबाट प्रहरीले १२ किलोभन्दा बढी लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हरिवन नगरपालिका–२ बस्ने ४८ वर्षीय सानु न्याउके दमाई, उनकी ३५ वर्षीया श्रीमती सविना परियार र लालबन्दी नगरपालिका–१४ बस्ने ५६ वर्षीया ज्ञानमाया योञ्जन रहेका छन् ।
उनीहरूले बोकेको जेब्रा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा तीनवटा पोकामा रहेको १२ किलो ८ सय २४ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजासहित तीनै जनालाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ । उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पछिल्लो समय सर्लाहीका विभिन्न क्षेत्रमा लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई तीव्रता दिएको जनाएको छ ।



