काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ भकुण्डेस्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सई) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटलबाट युवतीसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
स्थानीयका अनुसार श्रेष्ठलाई मध्यरातमा नमोबुद्धस्थित एक होटलबाट युवतीसहित नियन्त्रणमा लिइएको हो। जिम्मेवारीमा रहेका प्रहरी अधिकारी नै होटलमा युवतीसहित भेटिएपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा खबर गरेका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयले नियन्त्रणमा लिएका श्रेष्ठसहित दुई जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अघि बढाएको छ।
रोचक पक्ष त के छ भने, श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट ‘उत्कृष्ट प्रहरी’ समेत घोषित भएका थिए। तर, अहिले उनै प्रहरी अधिकारीमाथि जिम्मेवारी र आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रविन कार्कीले स्थानीयबाट खबर आएपछि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको पुष्टि गरे।
एसपी कार्कीका अनुसार श्रेष्ठसहित दुई जना प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
घटनाले प्रहरी संगठनभित्रका अधिकारीको व्यक्तिगत आचरण, जिम्मेवारी र मर्यादामाथि समेत प्रश्न उठाएको छ। यद्यपि, अनुसन्धान पूरा नभएसम्म घटनाको वास्तविकता र श्रेष्ठमाथि लागेका आरोप पुष्टि हुन बाँकी छ।



