मलंगवा । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकमको कारोबार गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विष्णु गाउँपालिका–४ का ४० वर्षीय बेचन भन्ने अवधेश चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चौधरीलाई गत बुधबार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार चौधरीले आफूले प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाउन सक्ने भन्दै सेवाग्राहीसँग रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले विष्णु गाउँपालिका–४ कै राजेन्द्र रायसँग मिलेर प्रहरी कर्मचारीलाई प्रभावमा पार्दै मानिस छुटाइदिने भन्दै रकम लिएको आरोप छ।
चौधरी पक्राउ परेपछि प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा संलग्न भनिएका राजेन्द्र राय भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा रकम लेनदेन तथा प्रहरीको नाम प्रयोग गरी सर्वसाधारणलाई प्रभावमा पार्ने गतिविधिबारे समेत अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी सेवाअन्तर्गत प्रदान गरिने सबै प्रकारका सेवा निःशुल्क हुने स्पष्ट पार्दै प्रहरीको नाममा कसैले रकम मागेमा वा लिएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।



