भारत–नेपाल सीमामा नक्कली नोट गिरोहमा छापा, लाखौँ बराबरको मुद्रा सहित एक जना पक्राउ

सर्लाही । भारत–नेपाल सीमावर्ती क्षेत्रमा सक्रिय रहेको नक्कली मुद्रा कारोबारको नेटवर्कमाथि भारतीय सुरक्षा निकायले ठूलो कारबाही गरेको छ। संयुक्त अपरेशनमार्फत एक जना कथित तस्कर पक्राउ परेका छन् भने ठूलो परिमाणमा नक्कली भारतीय र नेपाली नोट बरामद गरिएको छ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ५१ औँ बटालियन र बिहार स्पेसल टास्क फोर्स (एसटीएफ) को संयुक्त टोलीले बिहारको सीतामढी जिल्ला अन्तर्गत सोनबरसा क्षेत्रको इन्दरवा सीमा नाकानजिक विशेष छापा मारेको थियो। सो क्रममा रामप्रीत महतोलाई नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले जनाएको छ।

पक्राउ परेका व्यक्तिबाट करिब १ लाख ३० हजार रुपैयाँ बराबरका नक्कली भारतीय नोट, ५० हजार रुपैयाँ बराबरका नेपाली नक्कली नोट तथा अन्य नगद रकम बरामद गरिएको बताइएको छ।

सुरक्षा निकायका अनुसार सीमाक्षेत्रमा लामो समयदेखि नक्कली मुद्रा कारोबार भइरहेको सूचनाका आधारमा योजनाबद्ध अपरेशन सञ्चालन गरिएको थियो। घटनापछि सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको छ भने यस कारोबारमा संलग्न अन्य व्यक्तिको खोजी तीव्र बनाइएको जनाइएको छ।

सीमावर्ती क्षेत्रमा नक्कली मुद्रा कारोबारले सुरक्षा चुनौती बढाउँदै लगेको भन्दै सुरक्षा अधिकारीहरूले अवैध आर्थिक गतिविधिविरुद्ध थप कडा निगरानी र निरन्तर कारबाही गरिने बताएका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर