सर्लाहीमा धार्मिक तथा साम्प्रदायिक सद्भाव र्‍याली, ‘एकता र सहअस्तित्व’को सन्देश

सर्लाही । मधेस प्रदेशसहित देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनदेखि देखिएको अशान्त वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले सर्लाहीको हरिवन र लालबन्दी नगरपालिकाले शनिबार धार्मिक तथा साम्प्रदायिक सद्भाव र्‍याली आयोजना गरेका छन्।

समाजमा आपसी विश्वास, एकता र सहअस्तित्वको भावना सुदृढ बनाउने उद्देश्यले आयोजित र्‍यालीमा संघीय सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि, दुवै नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुख, वडा अध्यक्षहरू, सामाजिक अभियन्ता, हिन्दु तथा मुस्लिम समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

र्‍यालीमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी बिजयराज सुबेदी, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख (एसपी) रबिन्द्रनाथ पौडेलसहित सुरक्षा निकायका अधिकारीहरूको पनि सहभागिता रहेको थियो।

सहभागीहरूले पछिल्ला घटनाका कारण समाजमा उत्पन्न तनाव अन्त्य गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप बलियो बनाउन सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएका थिए।

आयोजकका अनुसार र्‍यालीमार्फत कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधिबाट प्रभावित नहुन, कानुनी शासनको सम्मान गर्न तथा सबै समुदायबीच भाइचारा र पारस्परिक सम्मान कायम राख्न नागरिकलाई सन्देश प्रवाह गरिएको छ।

र्‍याली हरिवन तथा लालबन्दीका विभिन्न क्षेत्र परिक्रमा गर्दै सम्पन्न भएको थियो। सहभागीहरूले नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले विविधताबीचको एकता नै देशको सबैभन्दा ठूलो शक्ति भएको बताएका थिए।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर