सर्लाही । सर्लाहीकोले सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन ७ दिने अल्टिमेटम दिएको छ। नगरपालिकाले सूचना जारी गर्दै सम्बन्धित व्यक्ति तथा संस्थालाई तोकिएको समयभित्र जग्गा खाली गर्न निर्देशन दिएको हो ।
नगर कार्यपालिकाको कार्यालय हरिवनद्वारा जारी सूचनाअनुसार जिल्ला प्रशासन कार्यालयको पत्रका आधारमा नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक, सरकारी तथा ऐलानी जग्गामा अनधिकृत रूपमा घर, टहरा, पर्खाल, छाना लगायतका संरचना निर्माण गरी अतिक्रमण गरिएको पाइएको उल्लेख छ ।
नगरपालिकाले नेपाल सरकारको सार्वजनिक सम्पत्ति संरक्षण तथा अतिक्रमण नियन्त्रणसम्बन्धी नीतिअनुसार यस्ता अवैध संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखिएको जनाएको छ । साथै मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक जग्गाको संरक्षण, डिजिटल अभिलेख तयारी तथा निगरानी प्रणाली सुदृढ गर्ने कामसमेत अघि बढाइएको सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले सूचना प्रकाशन भएको मितिबाट ७ दिनभित्र स्वेच्छाले अतिक्रमित जग्गा खाली गर्न आग्रह गरेको छ । तोकिएको अवधिभित्र अटेर गरेमा प्रचलित कानुनअनुसार नगरपालिका स्वयंले संरचना हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत द्वारा हस्ताक्षरित सूचनामा आवश्यक परे कानुनी कारबाहीसमेत अगाडि बढाइने जनाइएको छ ।



