भारतीय सवारीमाथिको प्रतिबन्ध फिर्ता लिन सर्लाहीमा सर्वदलीय दबाब, नमानिए आन्दोलन गर्ने चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा सर्वदलीय दलहरू एकजुट भएका छन् । जिल्लामा आईतवार सम्पन्न सर्वदलीय बैठकले नेपाल सरकारको उक्त निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल पुनर्विचार गर्न माग गरेको हो ।

बैठकले नेपाल–भारतबीच लामो समयदेखि कायम रहेको बेटी–रोटीको सम्बन्धमा यस्तो निर्णयले नकारात्मक असर पार्ने निष्कर्ष निकालेको छ । सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जनजीवन, सामाजिक सम्बन्ध तथा आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पर्ने भन्दै निर्णय सच्याउनुपर्नेमा जोड दिइएको छ ।

सर्वदलीय प्रेस विज्ञप्तिमा सर्लाहीका स्थानीयले विगतदेखि भारतीय नम्बर प्लेटका सवारी साधन ३० किलोमिटर क्षेत्रभित्र सहज रूपमा आवतजावत गर्दै आएको उल्लेख गरिएको छ । तर, जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षाको नाममा नियोजित रूपमा यस्तो सेवा बन्द गर्न खोजेको आरोप दलहरूले लगाएका छन् । बिना भन्सार सवारी सञ्चालनमा रोक लगाउने मानसिकताप्रति समेत असन्तुष्टि व्यक्त गरिएको छ ।

प्रेस विज्ञप्तिमार्फत जिल्ला प्रशासन कार्यालयलाई भारतीय नम्बर प्लेटका सवारी साधनलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न आग्रह गरिएको छ । माग बेवास्ता गरिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दलहरूले दिएका छन् ।

उक्त विज्ञप्तिमा नेकपा (एमाले) का जिल्ला अध्यक्ष राजनारायण साह, नेकपाका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राप्रपा नेपालका जिल्ला अध्यक्ष सत्यनारायण यादव, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष गणेश कुमार यादव, जसपाका जिल्ला अध्यक्ष शम्भु यादव तथा उज्यालो नेपालका जिल्ला उपाध्यक्ष राम स्वार्थ महतोको हस्ताक्षर रहेको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय