सर्लाही । डाँका मुद्दामा दोषी ठहर भई करिब २१ वर्षदेखि फरार रहेका प्रतिवादी विल्टु महतो सर्लाहीबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले कविलासी नगरपालिका–७ निवासी रामऔतार महतोका छोरा अन्दाजी ४४ वर्षीय विल्टु महतोलाई माघ १० गते दिउँसो करिब २:३० बजे हरिवन नगरपालिका–५ मा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
रामअशिष महतोको जाहेरीका आधारमा दर्ता भएको डाँका मुद्दामा विल्टु महतो समेत प्रतिवादी रहेका थिए । उक्त घटनाको वारदात २०६१ साल वैशाख ९ गतेको हो । सो मुद्दामा अदालतले विल्टु महतोलाई ६ वर्ष कैद तथा २ लाख ७९ हजार ६ सय रुपैयाँ जरिवाना तोकेको थियो ।
अदालतको फैसला पश्चात् उनी फरार रहँदै आएका थिए । लामो समयदेखि फरार रहेका प्रतिवादीहरुको खोजतलासलाई तीव्र बनाउने क्रममा उनको अवस्थिति पत्ता लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउपश्चात् आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
२१ वर्षपछि फरार अभियुक्त पक्राउ पर्नु गम्भीर अपराधमा कानुनी कारबाही सुनिश्चित गर्ने महत्वपूर्ण सफलता भएको प्रहरीको भनाइ छ ।



