सर्लाही । सर्लाहीमा रहेको सागरनाथ वन परियोजनाका एक चौकीदारको नृशंस हत्या भएको छ । शनिबार साँझ परियोजनामा कार्यरत चौकीदार रामेश्वर महतोको हत्या भएको सर्लाही प्रहरीले पुष्टि गरेको हो ।
प्रहरीका अनुसार महतोको शव टाउको छिनिएको अवस्थामा फेला परेको छ भने घटनास्थल नजिकै बन्चरो पनि भेटिएको छ । घटनाको प्रकृति अत्यन्तै गम्भीर देखिएकाले प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ ।
सर्लाही प्रहरी प्रवक्ता सरोज राईले घटनाबारे जानकारी दिँदै शंकास्पद अवस्थालाई मध्यनजर गर्दै थप अनुसन्धानका लागि प्रदेश प्रहरीको सहयोग लिइएको बताए । प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार घटनास्थलमा स्पेसल कुकुर परिचालन गरिएको छ ।
हत्या गरिएका चौकीदार रामेश्वर महतो ईश्वरपुर नगरपालिका–२ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्ति वा समूह पहिचानका लागि अनुसन्धान तीव्र पारिएको सर्लाही प्रहरीले बताएको छ ।



