सर्लाही । हरिवन नगरपालिकाभित्र अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ढुवानी गर्दै गरेका दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको नियमित गस्ती टोलीले बिहीबार बिहान करिब १० बजे हरिवन नगरपालिका–४ स्थित लखन्देही खोला क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा ज १ त ५१२३ नम्बरको ट्याक्टर फेला पारेको हो । उत्खनन गरिएको बालुवा ट्याक्टरमा लोड गरी ढुवानीको तयारी अवस्थामा राखिएको प्रहरीको भनाइ छ ।
यसअघि बुधबार बिहान पनि बरिष्ठ सई दिपेन्द्र बहादुर मल्लको कमाण्डमा खटिएको गस्ती टोलीले सोही स्थानबाट अवैध रूपमा ग्राभेल उत्खनन गरी ना ६ त १०३५ नम्बरको ट्याक्टरमा लोड गरेर लैजान तयारी अवस्थामा राखिएको अर्को ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका दुवै ट्याक्टर आवश्यक कानुनी कारबाहीका लागि हरिवन नगरपालिका कार्यालय हरिवनलाई बुझाइएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हरिवनले अवैध नदिजन्य पदार्थ उत्खनन तथा ढुवानी नियन्त्रणका लागि आगामी दिनमा नियमित अनुगमन र गस्ती थप कडाइका साथ जारी राखिने जनाएको छ ।



