सर्लाही । जिल्ला निर्वाचन कार्यालय मलंगवामा मतदाता नामावली दर्ताको क्रममा सर्वसाधारणले भोग्नु परेको कठिनाइबारे स्थानीयले गुनासो गरेका छन् । राजनीतिक दलका नेता तथा प्रभावशाली व्यक्तिहरूका परिचितलाई सजिलै दर्ता प्रक्रिया पूरा गरिदिइने तर सामान्य नागरिकलाई दिनभर लाइनमै झुण्डिन बाध्य बनाइने आरोप उनीहरूले लगाएका छन् ।
‘हामी बिहानैदेखि लाइनमा बस्छौँ, तर नेतानजिकका मान्छे आएपछि हाम्रो पालो कहिल्यै आउँदैन,’ एक स्थानीयले भने, ‘यसरी भेदभाव गरी मतदाता नामावली दर्ता गरिँदा सर्वसाधारण नागरिकले अन्यायको महसुस गरेका छन् ।’
यता, जिल्ला निर्वाचन कार्यालय मलंगवाले जनशक्ति अभावका कारण सेवा प्रभावकारी ढंगले प्रवाह गर्न कठिनाइ भएको स्वीकार गरेको छ । कार्यालयका अनुसार हालसम्म ४ हजार नयाँ मतदाता नामावलीमा समावेश भइसकेका छन् ।
‘जनशक्ति कम छ, सेवा लिन आउनेको भीड बढेकाले प्रक्रिया ढिलो भएको हो,’ निर्वाचन कार्यालय स्रोतले भन्यो, ‘सबैलाई समान रूपले प्राथमिकता दिइरहेका छौँ ।’
मतदाता नामावली दर्ता अभियान चलिरहेको बेला सर्वसाधारण नागरिकले सहज तथा पारदर्शी सेवा पाउनुपर्ने आवाज भने अझै बलियो बन्दै गएको छ ।



