सर्लाही । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर राजनीतिक तनाव चर्किँदै गएको छ। प्रदेश प्रमुखले संविधानविपरीत नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमै शपथ खुवाएको आरोप लगाउँदै सात दलका नेता तथा कार्यकर्ताले सोमबार मुख्यमन्त्री कार्यालयमा प्रवेश गरी तोडफोड गरेका हुन्।
कांग्रेस, जसपा, लोसपा सहितका दलका सांसद तथा कार्यकर्ताले कार्यकक्षमा तोडफोड गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यही क्रममा कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंहले नेपालको राष्ट्रिय झण्डा फालेको आरोप सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो।
यसबारे स्पष्टीकरण दिँदै सांसद सिंहले सामाजिक सञ्जालमार्फत माफी मागेका छन्। उनले आन्दोलनको क्रममा झण्डालाई सुरक्षित राख्ने उद्देश्यले वालतर्फ सार्दा ‘फालेको’ भनी भ्रम फैलिएको भन्दै क्षमा याचना गरेका छन्।
“प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले गैरसंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको विरोधमा सात दलले आन्दोलन गरिरहेका बेला केही कार्यकर्ताहरू उत्तेजित भएर तोडफोड गर्न खोजेको देखेपछि झण्डालाई सुरक्षित राख्न खोज्दा गलत बुझाइ भयो,” सिंहले स्पष्ट पारे।
उनका अनुसार नेपाल राष्ट्र र राष्ट्रिय झण्डाप्रति आफ्नो उच्च सम्मान रहेको र सदैव रहिरहने बताएका छन्।
उता, सात दलका नेता तथा कार्यकर्ताले प्रदेश प्रमुख भण्डारीको राजीनामाको माग गर्दै नाराबाजी जारी राखेका छन्। मधेसमा सत्ता संकट थप जटिल बन्दै गएको छ।



