सर्लाही । मलंगवा नगरपालिका–८ स्थित श्री सिताराम पोखरीमा स्थानीय युवाहरू र वडाध्यक्षहरूको सहभागितामा मलंगवा नगर संरक्षण तथा सुधार समिति गठन गरिएको छ। नगरभित्र विकास निर्माण, सार्वजनिक सेवा सुधार र सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै समितिले सहकार्यपूर्ण तथा दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
नगरका शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा धार्मिक–ऐतिहासिक सम्पदा संरक्षणमा नागरिक तहबाट पहल आवश्यक भएको निष्कर्षसहित गठन गरिएको समितिले पहिलो बैठकमै दुई महत्वपूर्ण कार्यक्रम सार्वजनिक गरेको हो।
हुलाकी राजमार्गको निर्माण वर्षौंदेखि ढिलो भइरहेकाले तत्कालिक रुपमा दवाव सिर्जना गर्ने उद्देश्यले २०८२ असोज १९ गते बुधबार बिहान ७ बजेदेखि राजश्री चौकमा अनिश्चितकालीन शान्तिपूर्ण आन्दोलन/बन्द गर्ने निर्णय गरिएको समितिले जनाएको छ। बैठकमा सहभागीहरूले सडक निर्माणको दीर्घ ढिलासुस्तीले नगरको आर्थिक तथा सामाजिक जीवन प्रभावित भएको भन्दै योजनाबद्ध जनदबाब आवश्यक रहेको टिप्पणी गरे।
त्यसैगरी विवाह पंचमीका दिन मंसिर ९ गते श्री सिताराम पोखरी परिसरमा ११ जोडीको सामूहिक विवाह कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ। कमजोर आर्थिक अवस्था भएका परिवारलाई सहजीकरण गर्दै परम्परागत संस्कृति जोगाउन सामूहिक विवाह कार्यक्रमलाई सहयोगी माध्यमका रूपमा अघि सारिएको बताइएको छ।
समितिले नगरभित्र पारदर्शिता, सुशासन र सहकार्यका आधारमा विकासका कार्यक्रम अघि बढाइने उल्लेख गर्दै स्थानीयवासी र सरोकारवालाहरूलाई सहभागी हुन आग्रह गरेको छ।



