जनकपुर । मधेस प्रदेशमा छठ पर्वलाई लक्षित गर्दै प्रदेश प्रहरी कार्यालयले कडा सुरक्षा रणनीति लागू गरेको छ। धार्मिक आस्थासँग जोडिएको यो पर्व शान्तिपूर्ण र सुरक्षित माहोलमा सम्पन्न होस् भन्ने उद्देश्यले प्रहरी प्रशासन उच्च सतर्कतामा छ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेश प्रहरीका नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले भने, “छठ पर्वका बेला मादक पदार्थ सेवन, झैझगडा र सवारी दुर्घटनाजस्ता सम्भावित घटनाबाट जनतालाई सुरक्षित राख्न विशेष सुरक्षा योजना तयार गरिएको छ।”
प्रदेशका आठ वटै जिल्लामा करिब ७ हजार प्रहरी परिचालन गरिएको उनले बताए। सुरक्षामा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र नागरिक पोसाकका सुरक्षाकर्मीहरू समेत सहभागी हुनेछन्।
थपलियाका अनुसार घाट, तालाब, नदी किनार, बजार क्षेत्र र राजमार्गहरूमा विशेष निगरानी बढाइएको छ। उनले भने, “छठ केवल उत्सव होइन, आस्था र विश्वासको पर्व हो— त्यसैले प्रहरीको भूमिका जनताको श्रद्धा र सुरक्षामा केन्द्रित हुनेछ।”
प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, भिडभाडमा अव्यवस्था सिर्जना गर्ने वा हुलदङ्गा गर्ने व्यक्तिमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। भिडभाड हुने स्थानहरूमा सिसी क्यामेरा निगरानी, मोबाइल गस्ती र सुरक्षा चौकी सक्रिय रहने जनाइएको छ।



