मधेसमा नयाँ सरकार गठनमा चार दल सहमत, कांग्रेसले मुख्यमन्त्री पाउने

जनकपुर । मधेस प्रदेशमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि चार दलबीच सहमति भएको छ। सत्तारुढ दलहरूले समर्थन फिर्ता लिँदा सतिस सिंहको सरकार अल्पमतमा परेको थियो।

अब कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको जनाइएको छ। विभिन्न चरणको छलफलपछि कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति अन्य दलले गरेका हुन्। नयाँ समीकरणअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा मिलेर सरकार गठन गर्न लागेका छन्।

प्रदेश प्रमुख काठमाडौंमा रहेकाले उनी आएपछि बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार गठनका लागि पत्र पेश गरिने तयारी छ। यी दलहरूले आजै हस्ताक्षर बुझाउने तयारी गरेका छन्। यद्यपि कांग्रेसलाई मुख्यमन्त्री दिने निर्णय भइसके पनि मन्त्रालयको बाडफाँडमा अझै सहमति भएको छैन।

जनमतले २८ गते आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो। त्यसपछि कांग्रेसले गत बुधबार सरकारबाट समर्थन फिर्ता लिएको थियो।

मधेस प्रदेशमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ। नयाँ समीकरणअनुसार कांग्रेससँग २२, एमालेसँग २४ (एक जना निलम्बनबाहेक), जनमतसँग १३ र लोसपासँग ८ (एक जना निलम्बनबाहेक) सांसद छन्। यस आधारमा नयाँ सरकार गठनका लागि पर्याप्त बहुमत सुनिश्चित भएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय