सर्लाही । भाद्र २३ र २४ गते जेनजीका युवाले निकालेका र्याली र विरोध प्रदर्शनका क्रममा सरकारी तथा निजी कार्यालय, बैंक, वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानबाट हराएका वा लुटिएका सामग्री फिर्ता गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीले कडा चेतावनी दिएको छ ।
प्रहरीका अनुसार कागजात, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, नगद, सवारीसाधनदेखि हातहतियारसम्म हराएको वा लगिएको सूचनाहरू प्राप्त भएका छन् । प्रहरी कार्यालयले यस्ता सामग्री फिर्ता नगरेमा वा बिक्री – वितरण गरेमा संलग्नहरूमाथि प्रचलित कानुनअनुसार कारबाही हुने स्पष्ट गरेको छ ।
“लुटपाट वा चोरी गरी लगिएका सामान तुरुन्तै प्रहरी कार्यालयमा बुझाउनुपर्नेछ, अन्यथा कानुनी दायरामा ल्याइनेछ,” प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, प्रहरीले घटनासँग सम्बन्धित फोटो, भिडियो वा सामाजिक सञ्जालमा राखिएका सामग्रीहरू उपलब्ध गराउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ । प्रहरीका अनुसार प्रमाण उपलब्ध गराउने व्यक्तिको नाम, थर र ठेगाना गोप्य राखिनेछ ।
सर्लाही प्रहरीले स्थानीयलाई सतर्क रहन र कुनै पनि सन्देहास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न अपिल गरेको छ । साथै, क्षति पुगेका कार्यालय तथा प्रतिष्ठानलाई नजिकैको प्रहरी चौकीमा सम्पर्क गरी औपचारिक उजुरी दर्ता गर्न सुझाव दिएको छ ।



