सर्लाही । राजनीतिक अस्थिरताका कारण केही दिनदेखि प्रभावित पर्सा गाउँपालिकाभित्रका सेवाहरू आइतबारदेखि पुनः नियमित हुने भएका छन् ।
गाउँपालिका अध्यक्ष धिरेन्द्र राय बिस्पतले शनिबार विज्ञप्ति जारी गर्दै भदौ २९ गतेदेखि सबै कर्मचारी र शिक्षकलाई अनिवार्य रूपमा आफ्नो कार्यक्षेत्रमा उपस्थित हुन निर्देशन दिएका छन्।
उनले हाल देशमा चलेको Gen Z पुस्ताको आन्दोलनले भ्रष्टाचारमुक्त र न्यायपूर्ण शासनको बाटो खोलेको दाबी गर्दै त्यसमा देखाएको सक्रियता र योगदानप्रति पर्सा गाउँपालिका बासीलाई धन्यवाद दिएका छन्।
आन्दोलनका क्रममा ज्यान गुमाउने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष बिस्पतले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
गाउँपालिकाभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमार्फत जनतालाई सहज र प्रभावकारी रूपमा सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै उनले आन्दोलनका कठिन क्षणमा सार्वजनिक संरचना जोगाउन देखाइएको स्थानीय बासिन्दाको भूमिकाप्रति आभार प्रकट गरेका छन्।



