सर्लाही । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका सर्लाहीका आठ पालिकामा अब दरबन्दी अनुसार स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन नगरपालिकामा उपसचिव र चार गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको हो ।
एकैसाथ १२२ जना उपसचिवको सरुवापछि ईश्वरपुर नगरपालिकामा जिल्ला समन्वय समितिको कार्यालय दोलखाबाट उपसचिव रामप्रसाद पोखरेललाई खटाइएको छ । यसअघि उपसचिवको अभावमा आयूर्वेद शाखाका डा. पङ्कजकुमार साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
बागमती नगरपालिकामा लेखा अधिकृत प्रतीत भण्डारीको निमित्त कामको ठाउँमा रक्षा मन्त्रालयबाट उपसचिव इन्द्र गौतम सरुवा भई नियुक्त भएका छन् । सीमावर्ती बलरा नगरपालिकामा शाखा अधिकृत सुशीलकुमार साहको ठाउँमा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव धर्मानन्द जोशी प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटिएका छन् ।
जिल्ला समन्वय समिति सर्लाहीका उपसचिव कमलबहादुर कार्की महोत्तरीको बलवा नगरपालिकामा सरुवा भएका छन् । लालबन्दी निवासी उपसचिव होमप्रसाद घिमिरे जलेश्वर नगरपालिका महोत्तरीमा सरुवा भइसकेका छन् ।
देशभर ९७ जना शाखा अधिकृतको एकसाथ सरुवापछि सर्लाहीका पाँच गाउँपालिकामा धनौजी गाउँपालिका, धनकौल, रामनगर, ब्रह्मपुरी र कौडेना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त भएका छन् । हालसम्म यी पाँच पालिकामा प्राविधिक, स्वास्थ्यकर्मी र शिक्षा शाखाका कर्मचारीले निमित्तको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
तर, हरिपुर नगरपालिका र विष्णु गाउँपालिकामा अझै निमित्त प्रमुख प्रशासकीय अधिकृत नै कार्यरत छन् । हरिपुरमा शाखा अधिकृत विनय पौडेल, विष्णु गाउँपालिकामा स्वास्थ्य शाखाका सञ्जीव सापकोटा निमित्त जिम्मेवारीमा कार्यरत छन् ।



