सर्लाही । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक अज्ञात भिडियोले सर्लाहीस्थित शसस्त्र प्रहरी बलका युनिटहरुमा त्रास फैलिएको छ । उक्त भिडियोमा शसस्त्र प्रहरीको बर्दी र नगद पैसा देखिएको भए पनि अनुहार अस्पष्ट रहेकाले वास्तविकता पुष्टि हुन सकेको छैन ।
भिडियोमा बोर्डर आउट पोष्ट (बीओपी) सखुअवाका सई लेखराज विष्ट र हवल्दार सुमन चौधरीले व्यापारीहरुसँग २२ हजार रुपैयाँ कमिसन लिएको दाबी गरिएको छ । तर, अनुहार नदेखिएका कारण शंका मात्र बढेको शसस्त्र प्रहरी बल नेपाल नं. १० हे.क्वा. गण सर्लाहीले जनाएको छ ।
गणपति एवम् शसस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दका अनुसार, भिडियोको सत्यता छानबिन गर्न विवादमा मुछिएका सई विष्ट र हवल्दार चौधरीलाई तत्काल गणमा बोलाइएको छ । उनले भने, “यदि कमिसन लिएको प्रमाणित भएमा कडाभन्दा कडा कारबाही हुनेछ ।”
हालै मात्र बीओपी सखुअवाको प्रमुख बनेका सई विष्टमाथि कमिसन प्रकरणले प्रश्न उठाएको छ भने, विभिन्न युनिटमा खटिएका शसस्त्र प्रहरी कर्मचारीहरु यस घटनापछि त्रसित बनेका छन् ।



