सर्लाही । कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमार यादव (बब्लु) ले आफू र परिवारको नाममा रहेको निजी जग्गामा मधेश प्रदेश सरकारले राजनीतिक रिसइवीका आधारमा अतिक्रमण गरेको आरोप लगाएका छन् ।
बुधबार प्रदेश मुख्यमन्त्री सतिश कुमार सिंहलाई बुझाइएको ज्ञापनपत्रमा अध्यक्ष यादवले सर्लाही हेमपुरस्थित कि.न. १७२, १७४ र २८ नं. का तीन वटा कित्तामा रहेको करिब १ बिघाभन्दा बढी क्षेत्रफलको जग्गा बिना जानकारी र कानुनी प्रक्रिया प्रदेश सरकारले प्रयोग गरेको उल्लेख गरेका छन् ।
उनका अनुसार ती जग्गा उनका बुबा उमेश कुमार राय र काका नागेन्द्र कुमार राय को संयुक्त नाममा दर्ता छन् । सोही जग्गा कर तिरी भोगचलन गर्दै आएको र बैंकमा धितो राखी ऋणसमेत लिएको अध्यक्ष यादवले दाबी गरेका छन् ।
ज्ञापनपत्र अनुसार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गतको शिर्षक नं. ३०७००९०१ मार्फत सरला माई मन्दिर, कविलासी नपा–४ योजनाको नाममा ५० लाख रुपैयाँ बजेट विनियोजन गरी आर्थिक वर्ष ०८२/८३ को अन्त्यमा जग्गामा कम्पाउन्ड वाल निर्माण गरिएको हो ।
अध्यक्ष यादवले प्रदेश सरकारले गोप्य रूपमा बजेट पारित गरी निजी सम्पत्तिमा पर्खाल लगाएर अन्यायपूर्ण रूपमा संरचना निर्माण गरेको आरोप लगाएका छन् । “हाम्रो कुनै जानकारी विना सरकारी कार्यालयमार्फत हाम्रो पुर्ख्यौली सम्पत्तिमा जबर्जस्ती पर्खाल लगाइएको छ,” उनले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
अध्यक्ष यादवले सो कार्यमा संलग्न वडा अध्यक्ष, उपभोक्ता समिति र अन्य पक्षहरूमाथि छानबिन गरी कारबाही गर्न मुख्यमन्त्रीसँग माग गरेका छन् । साथै उनले आफ्नो संवैधानिक हकमाथि अघात पुगेको भन्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।
न्याय नपाए कानुनी मार्ग र सडक आन्दोलन रोज्ने चेतावनी अध्यक्ष यादवले दिएका छन् । “समयमै न्याय नपाए म कानुनी कारबाही मात्र होइन, आन्दोलनमा उत्रिन बाध्य हुनेछु,” उनले भने ।





