सर्लाही । लगातारको खडेरी र सिंचाइ सुविधाको चरम अभावका कारण सर्लाहीको बसवरिया गाउँपालिकाका किसानहरू यस वर्ष साउनको पहिलो साता बितिसक्दासमेत धान रोप्न नसकेर गम्भीर संकटमा परेका छन् । मधेश प्रदेश सरकारले यस क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरिसकेको र संघीय सरकारले समेत विपद् संकटग्रस्त क्षेत्र मानेको अवस्थामा पनि स्थानीय तहले आवश्यक पहल नगरेको भन्दै नेपाली कांग्रेस बसवरिया गाउँपालिका कार्यसमितिले गम्भीर ध्यानाकर्षण गराउँदै गाउँपालिकालाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
कांग्रेस कार्यसमितिका सभापति लालवावु महतोद्वारा हस्ताक्षर गरिएको उक्त ज्ञापनपत्रमा किसानहरूको परम्परागत सिचाइ प्रणालीमा आएको अवरोध, विशेषगरी मनुष्मारा नदीको अतिक्रमण, नालाहरूमा मिसावट र जलप्रवाहमा देखिएको समस्या तथा त्यसबाट किसानहरू वैकल्पिक रूपमा बोरिंगमा निर्भर हुन बाध्य भएको उल्लेख गरिएको छ । तर आर्थिक अभावका कारण किसानहरू थप संकटमा परेको भन्दै तत्काल समाधानको माग गरिएको छ ।
ज्ञापनपत्रमा तत्काल थप बोरिंग जडान गर्नुपर्ने, किसानलाई खाद्यान्न, मल र विउ राहतस्वरूप उपलब्ध गराउनुपर्ने, कृषि प्राविधिकको व्यवस्था गर्नुपर्ने, कृषक ऋण मिनाहा गर्नुपर्ने, अनुदानको सुनिश्चितता गर्नुका साथै किसान पेन्सन योजना ल्याउनुपर्ने मागहरू उठाइएका छन् । साथै सिंचाइका लागि अल्पकालीन र दीर्घकालीन समाधान उपाय अवलम्बन गर्नु पर्ने, नदी अतिक्रमण रोकथाम, बजेट कार्यान्वयनमा पारदर्शिता र भ्रष्टाचारको अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ । बोरिंग वितरणमा निष्पक्षता कायम गर्नुपर्ने र पीडित किसानको तथ्यांक संकलन गर्दै कृषि क्षेत्रमा विशेष राहत घोषणा गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा गाउँपालिका अध्यक्षमाथि राहतस्वरूप आएको बोरिंग आफ्नै निजी खेतमा जडान गरेको र मानपुर क्षेत्रमा विनियोजित बजेटमा अनियमितता भएको गम्भीर आरोप पनि लगाइएको छ । कांग्रेसले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै दोषीमाथि कारबाहीको माग समेत गरेको छ ।
उक्त ज्ञापनपत्रको प्रतिलिपि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र इलाका प्रहरी कार्यालयमा समेत वोधार्थ पठाइएको छ ।
यदि मागहरू तत्काल पूरा गरिएनन् भने स्थानीय जनतालाई संगठित गरेर आन्दोलनको बाटो रोजिने चेतावनी कांग्रेस नेताहरूले दिएका छन् । आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारको हुने कांग्रेस बसवरिया गाउँपालिका कार्यसमितिले स्पष्ट पारेको छ ।



