सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका वडा नं. २ मा गर्मीको चपेटामा परेका स्थानीय बासिन्दाहरूलाई राहत मिल्ने गरी वडाध्यक्ष धिरेन्द्र साहको अगुवाइमा विभिन्न स्थानहरूमा समरसियल बोरिङ जडान गरिएको छ । पानीको चरम अभाव भइरहेका बेला गरिएको यो पहल स्थानीयका लागि अत्यन्तै राहतदायी सावित भएको छ ।
वडाध्यक्ष साहले आफ्नै पहलमा वडाभित्रका जनसङ्ख्या बाक्लो क्षेत्रमा अत्यावश्यक रुपमा बोरिङ जडान गराएका छन्, जसले गर्दा स्थानीयवासीले सहज रूपमा पिउने पानी पाउन थालेका छन् । यस सामाजिक र मानवमुखी कार्यको सर्वत्र प्रशंसा भइरहेको छ ।
स्थानीयवासीहरूले वडाध्यक्ष साहको यस सकारात्मक सोच, तत्परता र दूरदर्शी निर्णयप्रति आभार व्यक्त गरेका छन् । “गर्मी याममा पानीको समस्या विकराल भइरहेका बेला उहाँले समुचित व्यवस्था गरेर जनतालाई राहत दिनुभयो, यो साँच्चिकै उदाहरणीय हो,” स्थानीय एक सामाजिक अभियन्ताले भने ।
सम्पूर्ण मलंगवा–२ वासीको तर्फबाट वडाध्यक्ष धिरेन्द्र साहप्रति हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरिएको छ ।
जनताको आवश्यकता बुझेर समाधान खोज्ने नेताबाट नै समाजमा परिवर्तन सम्भव हुने स्पष्ट सन्देश समेत यस कार्यले दिएको छ ।



