महोत्तरीमा घुमुवा प्रहरीको साम्राज्य : तस्करी, असुली र आतंक संगठनकै संरक्षणमा ?

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी हवल्दार राजेश यादव र प्रहरी सहायक हवल्दार धर्मेन्द्र यादवले संगठनको नीति र अनुशासन विपरीत विगत ६ वर्षदेखि घुमुवा प्रहरीको रूपमा कार्य गर्दै तस्करी, धम्की, असुली र आन्तरिक अराजकता फैलाइरहेको आरोप लागेको छ ।

नेपाल प्रहरी संगठनभित्र ‘घुमुवा प्रहरी’ विवादास्पद संरचना मानिन्छ । तस्करहरूसँगको मिलेमतो, सिनियरलाई अवज्ञा, र संगठनको नाममा डर देखाउँदै आर्थिक लाभ उठाउने यस्ता व्यक्तिहरूलाई अघिल्लो नेतृत्वले हटाउने प्रयास गरे पनि हाल पुनः उनीहरू सक्रिय बन्दै गएका छन् ।

पहिले तानिए, फेरि पहुँचले फर्किए
मधेश प्रदेश प्रहरी प्रमुखमा यज्ञ विनोद पोखरेल कार्यरत रहँदा यी दुबै घुमुवा प्रहरीलाई गणमा तानिएको थियो । तर, डिआईजी लालमणि आचार्यको कार्यकालमा उनीहरूलाई पुनः महोत्तरीमै घुमुवा प्रहरीको रूपमा खटाइएको स्रोतले जनाएको छ। हाल भने मधेश प्रदेशका प्रहरी प्रमुखमा डिआईजी उमा चतुर्वेदी रहेकी छन् ।

डिआईजी र एसपीको नाममा असुली
नेपालफेससँगको कुराकानीमा स्थानिय व्यापारीहरूले डिआईजी उमा चतुर्वेदी र महोत्तरीका एसपी हर्मब शर्माको नाम लिई घुमुवा प्रहरीहरू डर, त्रास र धम्की देखाउँदै व्यापारिक क्षेत्रमा असुली गरिरहेको गुनासो गरेका छन् । “हामी हाकिमकै मान्छे हौं” भन्दै उनीहरूले जबर्जस्ती रकम असुल गर्ने गरेको व्यापारीहरूको भनाइ छ ।

तस्करी, संरक्षण र मौनता
सीमावर्ती चौकीहरू – समसि, इटहरवा कटी, पोखरभिन्डा, मठीयानी, भिठामोड आदि क्षेत्रबाट रक्सी, चाइनिज सामग्री, स्क्र्याप, फेयर एन्ड लवली लगायतका सामान भारततर्फ तस्करी भइरहेको छ भने भारतबाट रजनिगन्धा, कपडा, किराना, दूध पाउडर, माछा, कुखुराका चल्ला जस्ता सामग्री नेपाल भित्रिन्छन् ।

नेपालफेसलाई प्राप्त भिडियोमा दिउँसोको समयमा नै मोटरसाइकलमा तस्करी भइरहेको देखिन्छ। यसबारे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शैलेन्द्र भट्टले “जाँचबुझ भइरहेको छ” मात्र प्रतिक्रिया दिएका छन् ।

प्रहरी प्रधान कार्यालय पनि मौन
स्थानीयहरूका अनुसार, दुबै घुमुवा प्रहरीविरुद्ध प्रहरी प्रधान कार्यालयसम्म उजुरी परेपनि अहिलेसम्म कुनै चासो नदिइएको भन्दै उनीहरूको मनोबल झनै बढेको छ । “उजुरी दिए पनि सुनुवाइ हुँदैन, बरु उनीहरू झन् उन्मुक्त हुँदै गएका छन्,” एक स्थानिय व्यापारीले नेपालफेसलाई बताए ।

एसपीको प्रयास, ‘सोर्सफोर्स’को अवरोध
एसपी हर्मब शर्मा महोत्तरीमा लामो समयदेखि स्थायी रूपमा रहेका प्रहरीहरूको स्थानान्तरण गर्न चाहन्थे । तर, संगठनभित्रकै ‘सोर्सफोर्स’ र राजनीतिक पहुँचका कारण उनको प्रयास निरन्तर अवरुद्ध हुँदै आएको प्रहरी प्रशासन शाखाका एक कर्मचारीले जनाए ।

सिनियरप्रति अवज्ञा, संगठनप्रति अपमान
चौकी ईन्चार्जहरूसँगको संवादमा खुलेको छ कि राजेश यादव र धर्मेन्द्र यादवले ‘हामी हाकिमका मान्छे हौं’ भन्दै चौकीमा आएर सिनियर प्रहरीप्रति अभद्र व्यवहार गर्ने, जयनेपाल नगर्ने, र उल्टै हाकिमको कान भर्ने गतिविधि गर्दै आएका छन् ।

एकजना सिनियर प्रहरी अधिकृतले भने, “यी दुबै तस्करको स्कारपियो चढ्छन्, होटलहरूमा बस्छन्, हाईवेमा जुवा खेलाउनेहरूसँग मिल्छन्, तर सम्बन्धित निकाय मौन छ ।”

घुमुवा प्रहरीको आडमा महोत्तरीमा फैलिएको तस्करी, धम्की, असुली र संगठनविरोधी व्यवहारप्रति प्रहरी संगठनकै उच्च तहको मौनता झनै गम्भीर चिन्ताको विषय बनेको छ । सुधारको पहल थालिएको प्रहरी संगठनभित्र फेरि सोर्स र पहुँचको जीत देखिनु प्रहरीप्रतिको जनविश्वास कमजोर बनाउने लक्षण हो ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय