सर्लाही । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवले आफू फरार भएको भन्दै आएका समाचारहरूलाई अस्वीकार गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै उनले आफूमाथि आएका आरोपहरू निराधार रहेको बताएका छन्।
‘जय मधेस’ को अभिवादनसहित सार्वजनिक प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘म कुनै अपराधी होइन। मैले सदैव शोषित, पीडित, विपन्न तथा निमुखा जनताको पक्षमा आवाज उठाउँदै आएको छु। जिल्लामा व्याप्त बेतिथि, भ्रष्टाचार र लुटतन्त्रविरुद्ध बोल्नु अपराध हो भने म सयौं मुद्दा झेल्न तयार छु।’
उनले आफू फरार नभएको दाबी गर्दै इतिहासमै आफू मधेस र मधेसीको हकअधिकारका लागि लड्दै आएको बताएका छन्। ‘म कहिल्यै डराएको छैन, न त डराउने स्वभावको छु,’ उनले भनेका छन्, ‘इतिहास साक्षी छ, मधेस र मधेसीका लागि ज्यानको प्रवाह कहिल्यै गरेको छैन।’
यादवले आफ्नो घरमा प्रहरी आक्रमण भएको दाबीसमेत गरेका छन्। उनका अनुसार प्रहरी टोलीले राति १२ बजे डाकाजस्तो शैलीमा घरमा छापा मारी उनका छोरालाई कुटपिट गरेको हो। उनले भनेका छन्, ‘मेरो छोराको गर्दनको नस चुँडिएको छ। त्यसपछि गाउँलेहरूले ढुंगामुढा गरेर प्रहरीलाई भगाएका थिए।’
हाल उनी आफ्ना छोराको उपचारका लागि बाहिर रहेको भन्दै मिडियालाई अनावश्यक समाचार नफैलाउन आग्रह गरेका छन्। उनले स्पष्ट पारेका छन्, ‘मैले कुनै अपराध गरेको छैन। म मधेसको सिपाही थिएँ, छु र रहनेछु।’



