जनकपुर । मधेश प्रदेशमा सत्ता परिवर्तनको तयारी तीव्र बनेको छ । आगामी आर्थिक वर्षको बजेट पारित भएलगत्तै कांग्रेसले सरकारको नेतृत्व लिने पक्का भएको छ । सत्ता गठबन्धनभित्र भएको पूर्वसहमति अनुसार जनमत पार्टीले सरकारको बागडोर कांग्रेसलाई सुम्पन लागेको हो ।
२२ असारमा बजेट पारित हुने र त्यसपछि सरकारको नेतृत्व परिवर्तन हुने कांग्रेस नेताहरूको दाबी छ । प्रदेशसभाका प्रमुख सचेतक कुमारकान्त झाले बजेटपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए ।
‘गठबन्धनको सहमति अनुसार कांग्रेसले नेतृत्व पाउनु पर्ने हो । बजेट अगाडि सरकार फेर्दा प्राविधिक समस्या हुने भएकाले बजेटपछि मात्र सरकार परिवर्तन गर्ने निर्णय भएको हो,’ प्रमुख सचेतक झाको भनाइ छ ।
उनका अनुसार एमाले, लोसपाजस्ता सत्तासाझेदार दलहरू पनि कांग्रेस नेतृत्वमा सरकार बनाउन तयार छन् । ‘गठबन्धनको वैकल्पिक स्वरूप छैन, सहमति कार्यान्वयन नभए राजनीतिक बेइमानी ठहर्छ,’ उनले भने ।
एक वर्षअघि गठबन्धन दलहरूबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार अब मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारको नेतृत्व कांग्रेसलाई दिनुपर्ने अवस्थामा पुगेका छन् ।
मुख्यमन्त्री सिंहको नेतृत्वमा जनमतले करिब १४ महिना सरकार चलाएको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले मधेशमा अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका थिए । त्यसयता सरकार परिवर्तनको रस्साकस्सी चुलिँदै गएको छ ।
मधेशमा प्रदेश गठनको आठ वर्षपछि कांग्रेस पहिलोपटक सरकारको नेतृत्व गर्न लागिरहेको छ । अघिल्लो कार्यकालमा जसपाका लालबाबु राउत र दोस्रो कार्यकालको सुरुमा पनि जसपाले नै सरकारको नेतृत्व गरेको थियो ।
जसपा सरकारबाट बाहिरिएपछि जनमतको नेतृत्वमा सरकार बनेको थियो भने अब कांग्रेसको पालो आएको गठबन्धन दलहरूको बुझाइ छ ।
कांग्रेसका नेताहरू नेतृत्व हस्तान्तरणमा ढिलाइ भए सहमति कार्यान्वयनमा प्रश्न उठ्ने चेतावनी दिइरहेका छन् । मधेश प्रदेशको दोस्रो ठूलो दल भएर पनि अहिलेसम्म नेतृत्व नपाएको भन्दै उनीहरू दबाबमा छन् ।
प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले केन्द्रबाट मधेश झर्ने हरेक नेतालाई दबाब दिँदै आएका छन् ।
यसैबीच, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महेन्द्रकुमार यादवले पनि विभिन्न मञ्चहरूबाट चाँडै सरकारको नेतृत्व कांग्रेसले पाउने बताएका छन् ।
अब सरकारको साँचो कहिले सर्छ भन्ने प्रतीक्षामा छन् मधेशवासी ।



