७२ जिल्ला लिजमा दिऊँ” भन्ने सांसद सिंहको अभिव्यक्तिले संसदमा हंगामा, अभिव्यक्ति रेकर्डबाट हटाइयो

काठमाडौं — प्रतिनिधिसभाको आइतबारको बैठक एक सांसदको विवादास्पद अभिव्यक्तिका कारण गर्मिएको छ। सर्लाही क्षेत्र नं. ४ का सांसद अमरेशकुमार सिंहले बजेट चार–पाँच वटा जिल्लामा मात्र केन्द्रित भएको आरोप लगाउँदै बाँकी जिल्लाहरूलाई लिजमा अन्य देशलाई दिइयोस् भन्ने तर्क गरेपछि संसदमा चर्को विवाद उत्पन्न भएको हो।

सांसद सिंहले बजेट छलफलका क्रममा बोल्दै भने, “चार–पाँच वटा भाग्यमानी जिल्लाहरू छन्, त्यसलाई नेपालमै राखौं। बाँकी ७२ जिल्लालाई लिजमा अमेरिका, चीन वा भारतलाई दिऊँ। यदि बजेट नै जान्न नसक्ने हो भने किन राख्ने ती जिल्लाहरू? खाली कर उठाउन मात्र हो त?”

उनले आफ्नो गृहजिल्ला सर्लाहीलाई विकास बजेटमा बेवास्ता गरिएको भन्दै असन्तोष पनि पोखे। “सहरी विकास मन्त्रालयबाट मात्र काठमाडौंमा ३ करोडको दरले १३१ योजना छन्। मेरो जिल्लामा १५–२० वटा योजना त पर्ने हो नि। सर्लाहीको जनतालाई २० वटा योजना राखिदिएको भए हुन्थ्यो,” उनले भने।

यति भनिएपछि नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कडा आपत्ति जनाउँदै सांसद सिंहको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ करार गरे। उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ उल्लेख गर्दै संसदमा यस्तो अभिव्यक्ति सह्य नहुने भन्दै कारबाहीको मागसमेत गरे।

“देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वाभिमानमाथि प्रश्न उठाउने यस्तो अभिव्यक्ति संसदको रेकर्डबाट हटाइनुपर्छ,” बर्तौलाले भने, “यो संसदको मर्यादाविरुद्ध हो। यस्तो बोल्नेलाई कारबाही गर्नुपर्छ।”

सभामुख देवराज घिमिरेले अभिव्यक्तिलाई असंसदीय ठहर गर्दै संसदको रेकर्डबाट हटाउने निर्णय सुनाए। “नेपालको भूमि अन्य देशलाई दिइनेजस्तो अर्थ लाग्ने अभिव्यक्ति असंसदीय भएकाले रेकर्डबाट हटाउन निर्देशन दिन्छु,” उनले भने।

तर सिंहले रूलिङप्रति असन्तोष प्रकट गर्दै भने, “बजेट नपरेको विषयमा किन रूलिङ दिइएन? मैले त आफ्ना जिल्लाको पीडा बोलेको हुँ।”

यस घटनाले संसदमा बजेट वितरणको क्षेत्रीय असमानता र राजनीतिक भाषा संयमबारे गहिरो बहस जन्माएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय