सर्लाही । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले वीर सहिदहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै प्रदेश सरकारले सहिदहरूको सम्मानमा विभिन्न संरचना निर्माण गर्ने योजना अघि सारेको बताएका छन् ।
बुधबार सप्तरीको सप्तकोशी नगरपालिका–३ मा आयोजित वडा सभालाई सम्बोधन गर्दै उनले सहिद स्मृति भवन, स्मृति पार्क तथा सामुदायिक भवनजस्ता परियोजनाहरू सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे। साथै, सहिद परिवारका लागि विशेष कार्यक्रमहरू समेत तयारीमा रहेको जानकारी दिए ।
मन्त्री लेखीले निर्वाचित जनप्रतिनिधिका रूपमा आफू सधैं जनताकै माझमा रहेर काम गर्दै आएको उल्लेख गर्दै भने, “जनताको विश्वास जित्न जनभावना बमोजिम काम गर्नु मेरो पहिलो कर्तव्य हो ।”
सभामा उनले आगामी आर्थिक वर्ष २०८२/८३ मा सप्तरी क्षेत्र नं. १ (क) का सबै वडाहरूमा दुईदेखि आठवटा योजना बजेटसहित सञ्चालनमा ल्याइने बताए ।
सो अवसरमा नगरप्रमुख कृष्णप्रसाद ढकाल, उपप्रमुख रिता चौधरी, कार्यपालिका सदस्य राजेन्द्र विश्वकर्मा, वडा नम्बर–३ का अध्यक्ष देवकान्त गोजेवार, वडा सदस्य मनु चौधरी र वडा नम्बर–१ का अध्यक्ष रोहिणी पोखरेलको समेत उपस्थिति रहेको थियो ।



