सर्लाही : सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरीले झण्डै ४८ लाख रुपैयाँ बराबरको विभिन्न अवैध सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायव निरिक्षक सुबास यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले आज बिहान रुपन्देहीको बुटवलबाट मोरङतर्फ जाँदै गरेको प्र.३–०१–००५ ख ९४६० नम्बरको ट्रक रोकी जाँच गर्दा ठूलो मात्रामा भ्याट बिल तथा पज्ञापनपत्र विना ल्याइएका सामान फेला पारेको हो ।
प्रहरीका अनुसार ट्रकमा जिरा पाउडर, कस्मेटिक सामान, टायर, हेलमेट, मोटर पार्ट्स, ब्याट्री, औषधि, मेसिन, हार्डवेयर सामग्री, किचन सिंक लगायत विभिन्न प्रकारका खुद्रा सामानहरू लोड गरिएको थियो । तीमध्ये कतिपय सामानहरूको बिल शंकास्पद देखिएपछि ट्रकसहित नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।
जफत गरिएको सामानहरूको बजार मूल्य करिब ४७ लाख ९७ हजार ५०१ रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ । प्रहरीले ट्रकसहितका सामानहरू थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको जानकारी दिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको स्थान चेकपोष्टबाट करिब ५० मिटर दक्षिणतर्फ पर्ने बताइएको छ । घटनासम्बन्धी थप विवरण र अनुसन्धान जारी रहेको प्रहरी प्रहरीले जनाएको छ ।



