सत्ताको खेलमा सिडिओ कवारी हटाइए, मधेसमै जन्मिएको अधिकारीमाथि मधेसी नेताकै चलखेल

सर्लाही : मधेसमा अरुलाई अगाडि बढ्न नदिने प्रवृत्ति केवल खुट्टा तान्नेमा सीमित छैन, यहाँ त सिधै ‘काट्ने’ परम्परा जस्तै बनिसकेको छ। यस्तै प्रवृत्तिको पछिल्लो शिकार भएका छन् – महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारी। गृह मन्त्रालय तानिएको घटनामा राजनीतिक पहुँच, स्वार्थी मनसाय र शक्ति संघर्षको जालो प्रस्ट देखिन्छ।

राजनीतिमा निष्ठा भन्दा किनबेच प्रभावशाली बन्दै गएको वर्तमान सन्दर्भमा, जन्मैदेखि काँग्रेसमा लागेका कैयौं पुराना अनुहार घरमै थन्किन बाध्य छन् भने पैसा र पहुँचको आधारमा समानुपातिक सांसद बनेका नागिना यादव र संगीता मण्डल जस्ता पात्रहरू शीर्ष तहमा उक्लिएका छन्। उनीहरुकै प्रभाव र हस्तक्षेपले कवारीलाई हटाउने नाटक सफल बनाइएको चर्चा छ।

स्रोतका अनुसार, महोत्तरीको मटियानी क्षेत्रमा नालासम्बन्धी विकास आयोजना विवादको पछाडि स्थानीय कांग्रेस नेताको स्वार्थ टकराव लुकेको छ। एकातिर नगर प्रमुख हरिप्रसाद मण्डल, अर्कोतिर ठेकेदार जयकुमार चौधरीबीचको विवादको छायाँमा कवारीलाई मुछिएको बताइन्छ। तर, सांसद नागिनाले भने स्पष्ट रूपमा सिडिओको भूमिकाप्रति असन्तुष्टि जनाउँदै संसदमै आवाज उठाइन्।

त्यही बेला काठमाडौंको तीनकुनेमा हिंसामा पत्रकारको मृत्यु हुँदा त्यहाँका सिडिओ ऋषिराम तिवारीबारे नबोल्ने नेताहरू कवारीको सरुवामा भने सक्रिय भैहाल्नु कत्तिको न्यायसंगत? स्थानीय जनताको समस्या सिधै सुन्ने र त्यसमा पहल गर्ने अपवाद सिडिओ मानिएका कवारीको सरुवाले सरकारी तन्त्रको असहज यथार्थ उजागर गरेको छ।

स्थानीय जनप्रतिनिधिहरू जस्तै सांसद महेन्द्रकुमार राय कवारीको भूमिकाबाट सन्तुष्ट थिए। “उहाँले प्रत्यक्ष जनसमस्या बुझ्न प्रयास गर्नुभयो, जुन हामीकहाँ दुर्लभ छ,” उनी भन्छन्। कवारी मधेसमै जन्मिएर, त्यहीँको भाषा, भेष र संस्कृति बुझ्ने अधिकारी थिए। स्थानीयले चिनी र मिश्रीसँग तुलना गर्दै भने – “मिश्री घुल्न समय लाग्छ, चिनी एकै छिनमा घुलिन्छ, कवारी चिनी जस्तै थिए।”

संघीय शासन प्रणालीको सार नै स्थानीय नेतृत्व र सहभागिता हो। तर यही प्रणालीमा मधेसी सिडिओलाई हटाएर पहाडे ल्याउँदा पनि विरोध नहुने राजनीतिक प्रवृत्ति स्वयं प्रश्नको घेरामा छ। सांसद नागिनाले ‘मलाई केही फरक पर्दैन’ भनेर दिएको जवाफ मधेसमा नेताहरूको असंवेदनशीलता झल्काउँछ।

समग्रमा, सत्ताको खेल र स्वार्थको घेरोमा जनताको आवाज फेरि एकपटक चिथोरिएको छ। सिडिओ कवारीको सरुवाले मधेसमा असल काम गर्नेलाई टिक्न नदिने प्रवृत्ति फेरि उजागर गरिदिएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय