सिराहा — जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेशको मुक्तिको बाटोमै मधेशकै केही नेताहरू बाधक बनेको आरोप लगाएका छन्। सिराहाको गोलबजारमा सोमबार सुरु भएको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मधेशमा आन्तरिक उपनिवेश कायम रहेको उल्लेख गरे।
“मधेश सधैं नश्लिय राज्यसत्ताको आन्तरिक उपनिवेशमा रहँदै आएको छ,” यादवले भने, “तर, यही राज्यसत्ताको गुलामी मधेशका केही नेताहरूले गरिरहेका छन्।”
उनले सरकारको भूमि अध्यादेशलाई मधेश र मधेशीको अस्तित्व समाप्त पार्ने षड्यन्त्रको रूपमा व्याख्या गरे। एमाले र कांग्रेसमा रहेका मधेशी नेताहरूले यसप्रति विरोध नगरेको भन्दै उनले ती नेताहरूलाई ‘दास’ को संज्ञा दिए।
“त्यो अध्यादेश ल्याउँदा यी नेताहरू टुलुटुलु हेरेर बसे, हामीलाई त बोल्छन् भन्ने लागेको थियो,” उनले कटाक्ष गरे। यादवका अनुसार, राज्यको ज्यादती विरुद्ध सबै मधेशी नेताहरू एक भएर लड्नुपर्ने बेलामा उनीहरू व्यक्तिगत स्वार्थमा रमाइरहेका छन्।
जसपाका प्रथम उपाध्यक्ष राजकिशोर यादवले पनि दलतन्त्रको नाममा गिरोहतन्त्र हावी भएको टिप्पणी गरे। जनताको बलिदानीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि केही दलहरूले प्रहार गरिरहेको उनको आरोप थियो।



