रौतहट । बिहारको पूर्वी चम्पारण जिल्ला मोतीहारीमा प्रहरीले ठूलो मात्रामा लागुऔषध स्मैक बरामद गरेको छ। सोमबार नकरदेई थाना क्षेत्रबाट बरामद गरिएको करिब ७.५ किलोग्राम स्मैकको मूल्य अन्तर्राष्ट्रिय बजारमा नेपाली अढाई करोड रुपैयाँ बराबर रहेको छ।
मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातका अनुसार, तस्करीमा संलग्न चार जनाको पहिचान भइसकेको छ र उनीहरूको खोजी जारी छ। स्मैक नेपाल हुँदै भारत भित्रिएको दाबी गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
विशेष सूचनाको आधारमा प्रहरी दण्डाधिकारी सह अदापुर अंचलाधिकारी अनामिका सिंहको उपस्थितिमा छापामारी अभियान सञ्चालन गरिएको थियो। सो क्रममा सिरिसिया माल गाउँस्थित एक ड्रग माफियाको ठेगानामा छापा मार्दा, गाउँ छेउ खाल्डोमा लुकाइएको अवस्थामा स्मैक बरामद भएको हो।
बिहारमा मदिरा प्रतिबन्धपछि लागुऔषध तस्करीमा वृद्धि
विशेषज्ञहरूका अनुसार, बिहारमा मदिरा प्रतिबन्ध (सन् २०१६) पछि लागूऔषध तस्करीमा उल्लेख्य वृद्धि भएको छ। खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले गाँजा, अफिम, चरेस, स्मैक र मदिरा तस्करी गरिरहेको पाइएको छ।
मोतीहारी प्रहरी प्रमुख बनेपछि एसपी सुवर्ण प्रभातको नेतृत्वमा गैरकानूनी गतिविधिमाथि कडाइ गरिएको र लागुऔषध नियन्त्रणका लागि व्यापक कारबाही चलाइएको प्रहरीले जनाएको छ।



