वाणिज्य बैंकमा कर्जासम्बन्धी अनियमितता, सीईओ खनाल र अध्यक्ष ढुंगानाविरुद्ध उजुरी

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनाल र बैंकका अध्यक्ष दिलिप ढुंगानाविरुद्ध गम्भीर भ्रष्टाचार तथा अनियमितताको आरोप लागेको छ। उनीहरूविरुद्ध राष्ट्र बैंकमा उजुरी दर्ता भइसकेको छ, जसमा बैंकको निक्षेप जोखिममा पार्ने गरी ठूला कर्जामा कमिसन लिएको, नियमविपरीत ऋण प्रवाह गरिएको तथा बैंकको सामाजिक उत्तरदायित्व कोषको रकम आफ्ना आफन्त र राजनीतिक नजिकका व्यक्तिलाई वितरण गरिएको दाबी गरिएको छ।

उजुरीमा उल्लेख गरिएअनुसार सीईओ खनाल र अध्यक्ष ढुंगानाले ऋण प्रवाह गर्दा ४ प्रतिशतसम्म कमिसन लिने गरेको, बैंकका विभिन्न विभागीय प्रमुखहरूसँग मिलेर ऋणीहरूसँग असुली गर्ने गरेको तथा बैंक सञ्चालक समितिबाट जबर्जस्ती अनुमोदन गराउने गरेको आरोप छ। साथै, मूल्यांकनकर्ताहरूसँग समेत मिलेमतो गरी अवैध लाभ लिएको, लिलामी प्रक्रियालाई अपारदर्शी बनाउँदै आफ्ना नजिकका व्यक्तिहरूलाई न्यून मूल्यमा सम्पत्ति उपलब्ध गराएको उल्लेख छ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकका उच्च पदाधिकारीहरूबाट नै यस्ता गैरकानुनी गतिविधि भएको भन्दै निष्पक्ष छानबिन र कानूनी कारबाहीको माग गरिएको छ। प्रारम्भमा राष्ट्र बैंकले उजुरी दर्ता गर्न अस्वीकार गरे पनि सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि इमेलमार्फत उजुरी स्वीकार गरिएको स्रोतको भनाइ छ। हाल राष्ट्र बैंकले बैंकसँग यसबारे औपचारिक स्पष्टीकरण माग गरिसकेको छ।

यसैबीच, सीईओ खनालले आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गर्दै व्यक्तिगत बदनाम गर्ने प्रयास भइरहेको बताएका छन्। अध्यक्ष ढुंगानाले पनि आरोप असत्य भएको भन्दै बैंकले सबै निर्णय नियमानुसार गरेको दाबी गरेका छन्। तर, बैंकबाट प्रवाह भएका केही ठूला कर्जा, जस्तै भूगर्भ सिमेन्टको ऋण, समेत पुनर्तालिकीकरण गरिएको र त्यस क्रममा अनियमितता भएको आरोप बलियो बनेको छ।

राष्ट्र बैंकले उजुरीको गम्भीर अध्ययन गरिरहेको र आवश्यक छानबिनपछि मात्र कारबाहीबारे निर्णय हुने जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय