धिरोज ग्वाला
बुवा,
त्यस्तो कुनै पल छैन,
जतिबेला हजुरको आवश्यकता महसुस नभएको होस्
त्यस्तो कुनै पल छैन
जतिबेला हजुरको याद नआएको होस्
जति उमेर बढ्दै छ, त्यति महशुस गर्दै छु।
बुवा शब्दको अर्थ! बुवा बिनाको जीवन साच्चै नै जग बिनाको घर जस्तो हुने रहेछ।
न कोही सहारा न कोहि आधार
बुवाको आत्मालाई सदैव ईश्वरले आफ्नो चरणमा राखुन्।
धेरै माया अनि सम्झना छ मेरो बुवा।
तपाईँको काधमा बसेर
कानमा कानिकुर्रर…
गर्दै आमालाई हसाएको जस्तो सहज छैन बुवा
आज पनि आमालाई उसैगरी हँसाउन
आमा त हाँस्न बिर्सनु भएको छ
मलाई हँसाउन बिर्सनुभएको छ ।
घर घर लाग्दैन बुवा
तपाईँका यादहरुको संग्राहलय लाग्न थालेको छ
आफन्तहरु आउँछन-जान्छन्
नजरिया र लवज बदलेका छन् ।
मलाई विचरा भन्न थालेका छन्
आमालाई अशुभताको प्रतीक मान्न थालेका छन्
छानो भत्किएपछि त
खर लगेर आगो सल्काउने त दुनियाँ हुँदोरहेछ ।
म हरेक पल भिज्छु-रुझ्छु बुवा
झरी त बहाना मात्रै रहेछ
जसले तन मात्र भिजाउँछ ।
मन भिजाउने त
दु:ख रहेछ
अभाव रहेछ
पीडा रहेछ
अनि परेली भिजाउने आँसु ।
कई
बुवा,
हजुर जून बनेर हामीलाई हेरिरहनू
आमा र म बार्दलीमा बसेर
तपाईँको प्रतीक्षा गरिरहने छौँ ।
कौडेना सर्लाही



