लालबन्दीमा घरको दराज फुटाएर चोरी गर्ने दुई जना पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा घरको दराजको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी गरेको आरोप प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार नवलपुरका करिब ४० वर्षीय सुरेश तामाङको काठको दुई तल्ले घरको माथिल्लो तल्लामा रहेको दराजको ताल्चा फुटाई नगद तथा गरगहना चोरी भएको सूचना साउन ३१ गते बिहान करिब ८ः३० बजे प्राप्त भएको थियो।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी वरिष्ठ हवल्दार सुमनकुमार सिंहको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले चोरीमा संलग्न भएको आशंकामा लालबन्दी–१ नवलपुरकै २५ वर्षीय कुमार लोप्चन र ३२ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूसँग सोधपुछ गर्दा चोरी गरिएका सामानमध्ये केही सामान सोही स्थानमा रहेको हरि तामाङको पुरानो भत्किएको घरमा माटोमुनि गाडेर राखेको अवस्थामा फेला पारेको जनाएको छ।

बरामद सामानमा नगद ११ हजार १ सय रुपैयाँ, करिब २.५ तोलाको चाँदीको ब्रेसलेट, २ तोलाको चाँदीको सिक्री र करिब ७.५ तोलाका पाँच थान चाँदीका बाला रहेका छन्। बरामद सामानको अनुमानित मूल्य ५६ हजार ४२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यस्तै, चोरी भएकोमध्ये ५ आना सुनको मुन्द्रा (अनुमानित मूल्य १ लाख रुपैयाँ) र २.५ तोलाको चाँदीको बाला (अनुमानित मूल्य ११ हजार ७७५ रुपैयाँ) अझै बरामद हुन बाँकी रहेको प्रहरीले जनाएको छ। बाँकी सामानको अनुमानित मूल्य १ लाख ११ हजार ७७५ रुपैयाँ रहेको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाही पठाइएको प्रहरीले जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर