सर्लाहीमा घुसकाण्ड: डिभिजन प्रमुख र अधिकृत ८ लाख २१ हजार रुपैयाँसहित अख्तियारको फन्दामा

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयामा कार्यरत डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेका छन्।

अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित सरकारी क्वाटरमा छापा मार्दा सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ डिभिजन प्रमुख ढकाल बसेको सोफाबाट बरामद गरेको जनाएको छ। खानतलासीका क्रममा स्रोत खुल्न नसकेको थप ७१ हजार ११५ रुपैयाँ पनि फेला परेको छ।

अख्तियारका अनुसार विभिन्न जल उपभोक्ता समितिले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी लिन जाँदा डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृत तुलाकान्त चौधरीमार्फत घुस मागेकी थिइन्। त्यसक्रममा चौधरीले सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझेर डिभिजन प्रमुखको सरकारी क्वाटरमा पुर्‍याएको आरोप छ।

बरामद भएको नगदसहित दुवै जनालाई नियन्त्रणमा लिएर अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय