अशोक यादवको परिवारमाथि प्रहरीको दुर्व्यवहार भएको नेकपाको आरोप, निष्पक्ष अनुसन्धानको माग

मलंगवा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सर्लाहीका आफ्ना केन्द्रीय सदस्य अशोक कुमार यादव तथा उनको परिवारमाथि स्थानीय प्रहरीले गरेको भनिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाएको छ।
सोमबार जारी विज्ञप्तिमार्फत पार्टीले ट्याक्टर र ट्रकबीच भएको सामान्य सवारी दुर्घटनालाई आधार बनाएर प्रहरीले यादवको घर र गाउँमा पटक–पटक छापा मार्ने, परिवारका सदस्यलाई त्रसित बनाउने तथा घटनालाई अतिरञ्जित गर्दै मुद्दालाई अनावश्यक रूपमा अघि बढाउन खोजिएको आरोप लगाएको हो।
पार्टीले यस्ता गतिविधिले कानुनी प्रक्रियाभन्दा बाहिर गएर परिवारमाथि मानसिक दबाब सिर्जना गरेको दाबी गर्दै त्यसको विरोध तथा भर्त्सना गरेको छ। घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिएकामाथि कानुनअनुसार कारबाही हुनुपर्ने आफ्नो स्पष्ट धारणा रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै, घटनालाई नियोजित रूपमा उचालेर अशोक यादव र उनको परिवारलाई अनावश्यक दुःख दिने तथा पूर्वाग्रही ढङ्गले आरोप लगाउने कार्य रोक्न सम्बन्धित निकायसँग पार्टीले आग्रह गरेको छ।
नेकपाले प्रहरी प्रशासनलाई उक्त घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहविहीन अनुसन्धान गर्न माग गर्दै अनुसन्धान प्रक्रियामा पार्टीका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
उक्त विज्ञप्तिमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनको हस्ताक्षर रहेको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय