काठमाडौं । सीमा क्षेत्रमा हुने तस्करी, राजस्व चुहावट तथा अन्य अवैध गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले संगठनभित्रै व्यापक निगरानी र अनुशासनात्मक अभियान थालेको छ। सीमा क्षेत्रमा खटिएका कर्मचारी अवैध गतिविधिमा संलग्न भएको पाइए जुनसुकै दर्जाका भए पनि कडा कारबाही गरिने सशस्त्र प्रहरीले स्पष्ट चेतावनी दिएको छ।
मंगलबार जारी विज्ञप्तिअनुसार सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरूको आर्थिक सुशासन, कार्यसम्पादन र अनुशासनको नियमित अनुगमन भइरहेको छ। कुनै पनि कर्मचारीको भूमिकामा त्रुटि वा शंकास्पद गतिविधि भेटिए तत्काल छानबिन गरी आवश्यक कारबाही गरिने प्रधान कार्यालयले जनाएको छ।
यसै क्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत कार्यरत सशस्त्र प्रहरी हवल्दार हरिबहादुर मगरसहित तीन जना कर्मचारीलाई अनुशासन र कार्यसम्पादनमा कमजोरी देखिएको भन्दै असार १० गते प्रधान कार्यालयमा झिकाएर छानबिन प्रक्रिया अघि बढाइएको छ।
त्यसैगरी सीमा सुरक्षा गुल्मका गुल्मपति तथा सीमा सुरक्षा पोष्ट (बिओपी) का ९ जना कमाण्डरको कार्यसम्पादन सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै उनीहरूलाई जिम्मेवारीबाट फिर्ता बोलाइएको छ। अनुशासनविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा थप ६७ जना सशस्त्र प्रहरी कर्मचारीमाथि पनि विभागीय कारबाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमामा हुने तस्करी र राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन संगठनले एउटै जिल्लामा लामो समयदेखि कार्यरत १ हजार ८०३ जना सशस्त्र प्रहरी कर्मचारीको अन्तरजिल्ला सरुवा गरेको छ। सरुवामा तराईमा कार्यरतलाई पहाड र पहाडमा कार्यरतलाई तराईमा मिलान गरिएको छ। बाँकी कर्मचारीको सरुवा पनि यसै साताभित्र सम्पन्न गरिने जनाइएको छ।
सशस्त्र प्रहरी बलले सीमा अपराध नियन्त्रण, तस्करी रोकथाम र आर्थिक सुशासनलाई आफ्नो उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै संगठनभित्र कसैले पनि अनुशासन र कानुनविपरीत गतिविधिमा संलग्न भएको पाइएमा कुनै पनि तह वा दर्जाको आधारमा छुट नदिइने स्पष्ट पारेको छ।



