मलंगवा । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलस्थित एक कपडा पसलबाट झन्डै ९७ लाख २० हजार रुपैयाँ बराबरका भन्सार छलीका अवैध लत्ताकपडा बरामद गरिएको छ।
शनिबार दिउँसो प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, सर्लाही भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयुक्त टोलीले छापा मारेर उक्त परिमाणको लत्ताकपडा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णु अधिकारीको नेतृत्वमा ४० सदस्यीय टोली खटिएको थियो। टोलीले हरिपूर्वा–३ धनकौल निवासी सत्यनारायण साह तेलीले आफ्नै घरमा सञ्चालन गरेको कपडा पसलमा खोजतलास गर्दा विभिन्न प्रकारका भन्सार छली गरी नेपाल भित्र्याइएका लत्ताकपडा फेला पारेको जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका लत्ताकपडाको अनुमानित मूल्य ९७ लाख १९ हजार ६३० रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आइतबार सर्लाही भन्सार कार्यालयमा बुझाइएको छ।
खुला सीमाको दुरुपयोग गर्दै अवैध रूपमा नेपाल भित्र्याइने सामानविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।



