सर्लाही । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीविरुद्ध गतिविधि गरेको आरोप लागेका सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष तथा कांग्रेस नेता राजकुमार महतोलाई पाँच दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा जारी पत्रमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला महतो पार्टीका चुनावी सभा, सम्मेलन तथा बैठकजस्ता आधिकारिक कार्यक्रममा अनुपस्थित रहेको र आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गर्ने उद्देश्यका गतिविधिमा संलग्न भएको आरोपसहित उजुरी परेको उल्लेख गरिएको छ ।
महतोविरुद्धको उजुरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार शम्भुलाल श्रेष्ठले दर्ता गराएका हुन् ।
अनुशासन समितिले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ उपधारा (१) का (क), (ख), (ग) र (घ) अन्तर्गत अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै किन कारबाही नगर्ने भन्ने आधारसहित पाँच दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
समितिले तोकिएको समयभित्र स्पष्टीकरण नबुझाए प्रचलित पार्टी विधानअनुसार थप कारबाही प्रक्रिया अगाडि बढाइने संकेत गरेको छ ।



